धादिङ । शैक्षिक प्रेरणा समूहले यही २०८२ पुस ९ गते श्री बुद्धि विकास आधारभूत विद्यालय, बेनीघाट रोराङ-७ चरौंदी धादिङका ५५ जना चेपाङ विद्यार्थी र भूमेकाली आधारभूत विद्यालय, गजुरीका ११ जनालाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
समूहले बेनीघाट रोराङ-७ चरौंदी धादिङका ५५ जना चेपाङ विद्यार्थीलाई ट्र्याकसुट सेट, मोजा र उनी टोपी तथा ५ जनालाई टिसर्ट, पाइन्ट, मोजा वितरण गर्नुका साथै भूमेकाली आधारभूत विद्यालय, गजुरीका ११ जनालाई स्कुल ब्याग प्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्थानीय वडाध्यक्ष कुमार बस्नेतले आफ्नो मन्तव्यमा यस वडामा कूल ४१ प्रतिशत चेपाङ समुदाय रहेका र यिनीहरू निकै पिछडिएको बताउनु हुँदै पेटभरि खान नपाउने र राम्ररी कपडा लगाउन नपाउने चेपाङहरूको यो समस्या राज्यले हेर्नु पर्ने हो, तर राज्य उदासीन छ भन्दै यस्तोमा व्यक्तिगत सहयोग गर्न काठमाडौ देखि आउनुभएकोमा आभार व्यक्त गरे ।
धादिङका विद्यालयहरूका ५०० भन्दा विद्यार्थीलाई दिवा खाजा खुवाइरहेको समाजसेवी संस्था प्रेम सागर फाउन्डेसनका तर्फबाट भोला रावतले विद्यार्थी, समुदाय र स्थानीय समस्या समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए भने विद्यालयका प्रधानाध्यापक राममणि थपलियाले स्कुलमा ८० प्रतिशत चेपाङ समुदायका विद्यार्थी अध्ययनरत रहेका र यसमध्ये करिब २० प्रतिशत मात्रै दुईछाक खानसक्ने अवस्थामा भएको बताए ।
किरणसिंह ठकुरीले सञ्चालन गरेको सो कार्यक्रममा सहयोगदाता शैक्षिक प्रेरणा समूहका परिकल्पनाकार समाजसेवी किरण शर्माले केही गर्ने चाहना हुनुपर्छ त्यसपछि उमेर वा भूगोल केहीले नछेक्ने बताए । अहिले देशमा बुढाहरूबाट केही हुन्न युवा नै सबै थोक हो भन्ने भाष्य स्थापित हुँदै गएकोमा उनले चिन्ता ब्यक्त गरे। उनले एक दसकदेखि व्यक्तिगत रकम खर्चेर यस्ता परोपकारी कार्यमा अघि बढिरहेका बुढा पुस्तालाई समाजका सबै तह र तप्काबाट हौसला तथा प्रोत्साहन गर्दै नवपुस्ता यस्ता कामबाट सिक्नुपर्नेमा जोड दिँदै आफूहरूले सक्दो सहयोग गर्दै जाने वचन दिए ।
विद्यालयका पुराना शिक्षक सरिता सुवेदीले कक्षाकोठाको अभावमा कहिले १ देखि ३ सम्म गाभेर र कहिले चौरमा पालभित्र कक्षा लिनुपरेको पीडा सनाइन् । यसैगरी कक्षा ८ की छात्रा सृष्टि चेपाङले आफ्नो घरमा बत्ती समेत नभएकोले पठनपाठनमा कठिनाइ भएको बताइन् । सोहि दिन बिहान समूहको सम्मानमा राष्ट्रिय संगीतकर्मी संघ घादिङ जिल्ला समितिले धार्के बजारमा सम्मान तथा चिया कार्यक्रम समेत गरेको थियो ।
यस समूहले हालसम्म धादिङ र मकवानपुरका तमै रातामाटे मावि, अमन्तादेवी मावि, महाकाली मावि, कालिका आधारभूत विद्यालय, देउराली आवि, जनता प्रावि, वागेश्वरी मावि, शारदा आवि, बुद्धि विकास आवि लगायतका विद्यालयमा ड्रेस, दशैं लुगा र कपी कलम, स्वेटर, शैक्षिक सामाग्री तथा विद्यालयको आवश्यकता र आफ्नो गच्छे हेरि केही विद्याययलाई कम्प्युटर, प्रीन्टर र खेलकुद सामाग्री समेत दिएको छ । स्थानीय विपन्न वर्गका केहीलाई खाद्यान्न, रकम, लुगाफाटा र शैक्षिक छात्रवृत्ति उपलब्ध गराएको छ ।
यस बाहेक समूहले राष्ट्रिय संगीतकर्मी संघ घादिङ जिल्ला समितिलाई वाद्य सामाग्री समेत प्रदान गरिसकेको छ । समूहबाट निकट भविष्यमै केही विद्यालयका थप विद्यार्थीलाई कपडा लगायतका सहयोग पुर्याउने योजना रहेको कुरा समूहका सक्रिय व्यक्तित्व समाजसेवी बिजय बस्नेतले जानकारी दिए ।
कसरी जन्मियो यो समूह ?
किरण शर्मा
राजधानीसँग जोडिएको जिल्ला भएतापनि धादिङ जिल्लाको धेरै भाग विकट छन् । त्यहाँका जनताहरूले अहिले पनि आधारभूत सुविधाहरूको अभाव खेपिरहेका छन् । धादिङका यस्तै दुर्गम भेगका सामुदायिक विद्यालयमा अध्ययनरत चेपाङ लगायत अन्य पिछडिएका विपन्न तथा सीमान्तीकृत विद्यार्थीहरूको दुखद् अवस्था देखेपछि एक दशकअघि भक्तपुर बालकोटका एक समाजसेवी किरण शर्माका आँखा रसाए । यिनका लागि मैले केही गर्नुपर्छ भन्ने सोच पलायो उनमा । यही सोचलाई मूर्त रुपदिने क्रममा आफूसँग मन मिल्ने केही मानिस जुटाए । फलस्वरूप आजभन्दा १० वर्षअघि जन्मियो “धादिङ सहयोग समूह”।
यस समूहले आफू-आफूबाट रकम जुटाएर स्थापनाकालदेखि आजसम्म निरन्तर रूपमा धादिङका धेरै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना, पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पोशाक, दशैं लुगा लगायतका सहयोग गर्दै आएको छ । विपन्न केही अभिभावकलाई आत्मनिर्भर बनाउन लुगा सिउने मेसिन पनि दिएको छ भने खाद्यान्न र लत्ताकपडा पनि प्रदान गर्दै आएको छ । यसरी छिमेकमा गरेको सहयोगको खबर सुनेर मकवानपुरका विद्यालयहरूबाट पनि समूहलाई सहयोगको माग आउन थाल्यो । तर व्यक्तिगत सहयोग कसरी सबैतिर चाहेजति पुर्याउन सकिन्थ्यो र ?
समय बित्दै जाँदा सुरु-सुरुमा धादिङलाई कार्यक्षेत्र बनाएको यस समूहमा बिस्तारै स्वतस्फूर्तरूपमा सहयोगीहरू जोडिँदै गए । दाताहरूले आफ्नो जन्मदिन लगायतका शुभकर्महरूमा नियमित सहयोग वाहेकको थप आर्थिक सहयोग समेत दिन थाले । त्यसपछि भने यसले आफ्नो कार्यक्षेत्र बिस्तार गरी सहयोगको माग आएको मकवानपुरका विद्यालयमा पनि पुगेर विद्यार्थीहरूलाई आवश्यकता अनुसार पाठ्यपुस्तक, शैक्षिक सामाग्री, विद्यालय पोशाक, दशैंलुगा, न्यानो लुगा आदि दिन थाल्यो । मकवानपुरमा पनि प्रवेश गरेपछि हाल समूहले आफ्नो नाम परिवर्तन गरि “शैक्षिक प्रेरणा समूह” राखेको छ ।
प्रतिक्रिया दिनुहोस