काठमाडौं। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए), अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ।
परिषद्का प्रवक्ता सन्देश उप्रेतीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एनआरएनए अमेरिकाले मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रमका लागि आमन्त्रण गरेको छैन र अमेरिकामा युवासम्बन्धी कुनै कार्यक्रम पनि आयोजना भएको छैन। परिषद्को नाम वा पहिचानको दुरुपयोग गरिएका कुनै पनि कार्यक्रम, भ्रमण वा गतिविधि पूर्ण रूपमा अवैध र अमान्य हुनेछन्।”
परिषद्को आधिकारिक स्वीकृति बिना गरिएका अनधिकृत कार्यक्रम, संकलन वा गतिविधिहरूमा परिषद्को कुनै सम्बन्ध नरहेको उल्लेख गर्दै, यससम्बन्धी कानुनी कारबाही अघि बढाइने विज्ञप्तीमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ कि गैरकानुनी गतिविधिहरूको विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइनेछ।

प्रतिक्रिया दिनुहोस