काठमाडौं । युरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा फ्रान्स र पोर्चुगलले २-२ गोलको बराबरी खेलेका छन् ।
युरोपेली च्याम्पियन पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । विश्व च्याम्पियन फ्रान्सका तर्फबाट करिम बेन्जेमाले दुई गोल गरे ।
खेलमा तीन गोल पेनाल्टीबाट भएको थियो । जसमा रोनाल्डोले दुवै गोल पेनाल्टीबाट गरेका थिए ।
हंगेरीको पुस्कास एरेनामा भएको खेलको ३१औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पहिलो पोर्चुगललाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सका करिम बेन्जामाले पेनाल्टीबाटै बराबरी गोल फर्काए ।
४७औं मिनेटमा बेन्जामाले गोल गर्दा फ्रान्सले अग्रता बनायो तर ६०औं मिनेटमा रोनाल्डोले पेनाल्टीमै गोल गर्दै खेल बराबरी गरे ।
रोनाल्डोले फ्रान्सविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका हुन् । उनले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् ।