काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर तथा नेता राजेन्द्र महतो पक्षका नेताको बैठक बिहीबार बस्दैछ ।
समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेबारेमा छलफल केन्द्रित हुने एक नेताले बताए । बैठक दिउँसो १ बजे बबरमहलमा बस्ने तयारी छ ।
जसपाको ठाकुर पक्षका११ जना प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएका थिए। तर सर्वोच्चको अन्तरिम आदेशसँगै उनीहरु पदमुक्त भएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा छलफल हुन लागेकाे हाे ।
जसपामा ओली सरकारमा जाने कि नजाने भन्नेमा अध्यक्षद्धय ठाकुर र उपेन्द्र यादवबीच मतान्तर भएको थियो । ठाकुर पक्षले ओलीलाई समर्थन गर्दै सरकारमा जाने निर्णय गरेको थियो भने यादव पक्षले विपक्षी गठबन्धनलाई साथ दिँदै आएको छ ।
यही क्रममा दुई अध्यक्षले एकअर्कालाई कारवाही गरेपनि निर्वाचन आयोगले कार्यान्वयनमा ल्याएको छैन। दुवै पक्षले आफू नेतृत्वको जसपा आधिकारिक भएको भन्दै आयोगमा निवेदन दिएका छन् ।