काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । बिहिबार सम्पादकहरुको छलफलमा अध्यक्ष दाहालले राज्यका संयन्त्रहरू कमजोर भएको बताएका छन् ।
उनले संवैधानिक निकायहरू यति कमजोर भएको आफूले यसअघि कहिल्यै नदेखेको बताए । अहिलेको राष्ट्रपतिमा भन्दा पहिलेका राजाहरुमा नै शान रहेको प्रचण्डले भनेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको इशारामा मात्र चलेको आरोप लगाउँदै अध्यक्ष दाहालले राष्ट्रपति संस्थाको ओज घटेको उनले बताए ।
‘अहिलेको राष्ट्रपतिमा भन्दा राजाहरुमा त बरु शान थियो, अहिले शान पनि छैन, मान पनि छैन । इज्जत पनि छैन । हामीले बनाएको संस्था, राष्ट्रपति त संस्था हो नि । अहिले राष्ट्रपति केवल प्रधानमन्त्रीको रबरस्ट्याण्ड मात्रै भए ।’ प्रचण्डले भने, ‘सबै नेताहरु उस्तै उस्तै हुन् भन्ने लाग्ला त्यस्तो होइन, केपी ओली देशका लागि भिलेन हो भन्ने जनताले थाहापाइसके ।’