काठमाडौं । विपक्षी दलका शीर्ष नेताहरूले नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरू गुम्न नदिन विपक्षी गठबन्धन बनाएको बताएका छन् ।
बिहीबार सम्पादकहरूसँगको अन्तरक्रियामा शीर्ष नेताहरूले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रियता र अहिलेको व्यवस्था बचाइराख्न गठबन्धन गरेको दाबी गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
प्रधानमन्त्री केपी ओलीले ‘जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको’ निष्कर्षमा विपक्षी गठबन्धन पुगेका छन् ।
गठबन्धनका शीर्ष नेताहरूले पाँच दलको गठबन्धन प्रधानमन्त्री पद र चुनाव जित्नकै लागि मात्रै नभएको दाबी गरे । उनीहरूले गठबन्धन दीर्घकालसम्म जानेसमेत संकेत गरे । संसद् विघटनविरुद्धको मुद्दामा नियमित सुनुवाइ सुरु भएको अर्को दिन गठबन्धनका शीर्ष नेताहरूले सम्पादकहरूसँग अन्तर्संवाद गरेका हुन् । नेताहरूको निसानामा प्रधानमन्त्री ओली थिए ।
प्रचण्डले विपक्षी गठबन्धन अवसरवादी नभई लोकतन्त्रवादी र वामपन्थीहरूको मोर्चा भएको दाबी गरे । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले देशमा रहेका सबै शक्तिबीच हातेमालो गरेर अघि बढ्न गठबन्धनमा एकबद्ध भएको बताए । उनले ओली सुध्रिएर आए अझै पनि स्वागत गर्न सकिने बताएका थिए ।