
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दामा रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट भएको बहस सकिएको हो ।
विपक्षीको तर्फबाट सोमबारदेखि छलफल हुनेछ । विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।
रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ ।
एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
सरकार पक्षका कानुन व्यवसायीलाई बहसका लागि संवैधानिक इजलासले १५ घण्टा समय तोकेको छ । संवैधानिक इजलासमा यही असार ९ गतेबाट रिट निवेदक पक्षको बहस सुरु भएको थियो।
सर्वोच्च अदालतको संवैधानिक इजलासले गत जेठ २६ गते प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनबाट दुई-दुई वरिष्ठ अधिवक्ता एमिकस क्युरीका रुपमा उपलब्ध गराउन आदेश दिएको थियो ।
सो विवादमा ३० वटा रिट निवेदन परेका छन् । गत जेठ ८ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानुनी घोषणा गर्ने माग ती निवेदनमा गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend