काठमाडौं । पोर्चुगललाई हराउँदै बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।
बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । खेलको ४२ औं मिनेटमा हाजार्डले बेल्जियमका लागि निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।
दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।
८३औं मिनेटमा पोर्गुलका राफेल गुरेइरोको प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसअघि रुबेन डियाको हेडर बेल्जियमका गोलकिपर थिबाउ कोर्तवाले रोकेका थिए ।
समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।
यससँगै बेल्जियम क्वाटरफाइनलमा पुग्ने चौंथो टिम बनेको छ । पोर्चुगल भने अन्तिम १६ बाटै बाहिरिएको छ ।