
काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन् ।
मदन भण्डारीको ७० औं जन्मजयन्तीमा शुभकामना व्यक्त गर्दै उनले यस्तो अपिल गरेका हुन् । उनले आज जारी गरेको विज्ञप्तिमा कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा आह्वान गरिएको छ ।
उनले भनेका छन्, ‘विद्यमान वैचारिक-राजनैतिक-साँस्कृतिक-आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयॅा शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वानसहित जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।’
लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ रहेको भन्दै उनले यो दुःखद रहेको बताएका छन् ।
‘राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्र विरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend