आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

भारतभन्दा नेपालमा कोरोना संक्रमण दर सात गुणा बढी, भारतीय रणनीति हेरेर रोकथाम गर्न नसकिने

भारतभन्दा नेपालमा कोरोना संक्रमण दर सात गुणा बढी, भारतीय रणनीति हेरेर रोकथाम गर्न नसकिने

काठमाडौं । भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ । 

विगतमा भारतमा देखिएको अवस्थाका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। जीडी ठाकुरले बताए ।

भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ । संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ ।

एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ । भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ । भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् ।

वरिष्ठ जनस्वास्थ्यविद् डा। राजेन्द्र बीसीले कोभिडको अवस्था भारतकै अनुपातमा नेपालमा नदेखिने बताए । उनले भारतका नागरिक खोपले गर्दा कोभिडविरुद्ध उच्च सुरक्षा स्तरमा गइरहेको र त्यहाँ छिटै अवस्था सहज हुन सक्ने बताए । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend