
गोरखा : गोरखाको धार्चे गाउँपालिकाले छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न थालेको छ ।
सिङ्गो गाउँपालिकामा विद्युत र इन्टरनेट नभएपछि मंगलबारदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । पालिकाको कार्यालय रहेको माछाखोलामा अवरुद्ध विद्युत सेवा मर्मत गर्न समस्या भएपछि छिमेकी जिल्लाबाट कार्यालय सञ्चालन गर्नुपरेको उनको भनाइ छ ।
‘विद्युत् सेवा र इन्टरनेटको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ’, उनले भने, ‘आर्थिक वर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत समस्या भएको छ ।’ गत जेठको अन्तिम सातादेखि अवरुद्ध भएको विद्युत् सूचारु हुने अवस्था नभएपछि गाउँपालिकाले अस्थायी रुपमा स्थापना गरेर भएपनि कार्यालय सञ्चालनमा ल्याउन वाध्य भएको अध्यक्ष गुरुङको भनाइ छ ।
‘कामको चाङ छ, केही गर्न नै पाइएको छैन’, गाउँपालिकाका उपाध्यक्ष फुलमायाँ गुरुङले भनिन्, ‘आइतबारदेखि कार्यालयका झिटीगुन्टा लिएर धादिडको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापन गरि काम थालेका छौ ।’ माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थायी रुपमा कार्यालय स्थापना गरेर भएपनि सेवाग्राहीलाई सेवा दिन थालेको उनले बनाइन् ।
असार लागेसँगै परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछाखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाइनको विद्युत् पोल दर्जनौ स्थानमा ढलेका छन् । पोल ढलेका कारण विद्युत् सेवा प्रवाह गर्न समस्या भएको हो । त्यस क्षेत्रमा तत्कालै विद्युत् प्रवाह गर्न सक्ने अवस्था नरहेको सल्यानटार विद्युत् प्रशारण केन्द्रले जनाएको छ ।
‘बुढीगण्डकी नदीको बगरबाट माछाखोलासम्म पुरयाइएको विद्युत्को हाइटेन्सन लाइन बाढीका कारण नदीको बीच भागमा पुगेको छ’, गाउँपालिकाका अध्यक्ष गुरुङले भनिन्, ‘भिरालो स्थानका केही पोलहरु पहिरोले कामै नलाग्ने गरी बिग्रिएको छ । विद्युत् र इन्टरनेट सुचारु हुनासाथ पुनः आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिनेछ ।’
नेपाली सेनाले सुचारु गरेको आरुघाट-माछीखोला सडकअन्तर्गत विभिन्न स्थानमा सोमबार राति पहिरो जाँदा अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा मान्बु हुँदै काशीगाउँ भएर मात्र माछीखोला पुग्नु पर्ने वाध्यता छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend