
काठमाडौं । नेपालमा थप २८ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ११ हजार ५६८ जनाको परीक्षण गर्दा २८ सय ९२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ७१ सय ८७ जनाकाे पीसीआर गर्दा १८ सय ८९ जना र ४३ सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ३ जना गरी कुल २८ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाडौंमा ४३६, ललितपुरमा १८९ र भक्तपुरमा ४७ जना गरी काठमाडौं उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको पौडेलले जानकारी दिए ।
बुधबार संक्रमण पुष्टि भएकाे संख्या मंगलबार पुष्टि भएकोभन्दा २५६ जनाले बढी हो । मंगलबार २६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यस्तै सोमबार २४ सय ४४ जना नयाँ संक्रमित थपिँदा आइतबार १९ सय २० जनामा मात्र कोरोनाको संक्रमण पुष्टि भएको थियो । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजारले बढेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले केही हप्ताअघि संक्रमण घट्ने क्रममा रहेकाे भएपनि याे हप्ता निरन्तर बढिरहेकाे पाइएकाले जोखिम अझै नहटेको भन्दै जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेका छन् । उनले निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितको संख्या बढेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न र काम नपरी घरबाहिर ननिस्कन पनि सबैसँग अनुरोध गरे ।
प्रवक्ता पौडेलका अनुसार देशभर अझै पनि ३३ हजार ५६१ सक्रिय संक्रमित छन् । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३ हजार १७ जना संस्थागत आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३५ सय ९७ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोनाले मर्नेको संख्या ९ हजार ११२ पुगेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend