आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नै छैन : विष्णु पाैडेल 

केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नै छैन : विष्णु पाैडेल 

काठमाडौं । नेकपा एमालेका नेता विष्णुप्रसाद पौडेलले आगामी केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

बालुवाटारमा बुधबार बसेको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्र्दै एकता पूर्वको केन्द्रीय कमिटी ब्युँताएको छ । त्यसको बैठक शुक्रबार १८ गते बोलाइएको छ । उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले यो बैठकमा नेपाल पक्षीय नेताहरु बैठकमा नआउनु अनुचित हुने पनि बताए ।

बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले नेकपा एमालेले २०७५ जेठ २ गते अघि रहेको पार्टी केन्द्रीय कमिटी व्युताएको अवस्थामा सबै नेताहरु तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्नु पूर्वको हैसियतमा बैठकमा सहभागी हुनसक्ने बताएका हुन् । ‘आजका मितिदेखि कारबाहीका प्रसंग सकियो,’ उनले भने, ‘नेकपाभन्दा अगाडिको पदीय हैसियतका साथ बैठकमा सहभागी हुन आव्हान गरिसकेपछि बैठकमा नआउनु सर्वथा अनुचित कुरा हुन्छ । म आशा गर्छु उहाँहरु आउनुहुनेछ ।’

अर्थमन्त्री पौडेलले पार्टीको अन्तरविरोध पार्टीको दायराभन्दा बाहिर पुगिसकेको उल्लेख गर्दै अन्तरविरोधहरुलाई पार्टीको दायरामा फर्काउनुपर्ने बताए । पार्टी भित्रै बसेर समस्याको समाधान गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा उनकाे जोड छ । आगामी दिनमा नेकपा एमाले व्यक्तिको स्वेच्छाचारीतामा नचली पार्टी निर्णयको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गर्नका लागि आगामी केन्द्रीय कमिटीको बैठक बस्न लागेको उनले स्पष्ट पारे ।

उनले भने ‘पार्टीलाई एकतावद्ध गरेर लिएर जान सकुँ भन्ने हिसाबले प्रधानमन्त्रीले धेरै ठुलो पीडा सहेरपनि सम्वादको निम्ति, सहकार्यको निम्ति, एकताको निम्ति प्रयास गरिरहनुभएको छ । त्यही एकताको प्रयासको शिलशिला हो की हामी अहिले सबै जटिलताको बिचमा पनि समस्याहरुलाई समाधान गरौं, पार्टीको दायराभन्दा बाहिर पुगेको अन्र्तविरोधलाई पार्टीको दायरामा फर्काऔँ । पार्टी भित्रै बसेर समस्या समाधान गरौँ र पार्टीलाई एकतावद्ध गरेर लिएर जाऊँ । पार्टी अब पार्टी निर्णयको आधारमा चल्छ । व्यक्ति स्वेच्छाचारी ढंगले चल्दैन । पार्टीको निर्णयको आधारमा, पार्टीको निर्देशनको आधारमा चल्छ भन्ने कुराको सुनिश्चितता गरौँ भन्ने सोचका साथमा अब हामी नेकपा(एमाले)को केन्द्रीय कमिटीको बैठक बस्छौँ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend