
बागलुङ । यस वर्षको मनसुन जेठको अन्तिम सातादेखि नै भित्रियो । निरन्तर वषौ भैरहेको छ । धान राप्ने बेला भैसक्यो खेतमा धानको बीउ लहलह भएको छ । समयमा नै धान नरोपे पछि राम्रो नफल्ला कि भन्ने किसानलाई चिन्ता छ । तर समयमा नै धान रोप्नका लागि गाउँमा खेतला पाउन मुस्किल छ ।
‘गाउँमा काम गर्ने कोही छैन, भएका युवाहरु पनि विदेश गए । न खन्ने बाउसे पाइन्छ न खेताली, गोरुको सट्टा त हाते ट्रयाक्टर छ, खेताली र बाउसे पाउनै छाड्यो,’ बागलुङ नगरपालिका–४ कुँडुलेका कृषक पूर्णप्रसाद सापकोटा यस्तै दुखेसो पोख्छन् । धान दिवस मनाइरहँदा जिल्ला समन्वय प्रमुख र कृषि ज्ञान केन्द्रका प्रमुखसँग कृषकहरुको गुनासो नै खेताला पाईन छाडे भन्ने थियो ।
गाउँघरमा खेतला नपाउँदा रोपाइँ गर्नका लागि निकै मुस्किल भएको सापकोटा बताउँछन् । ‘समयमै पानी परेकोले यस वर्ष रोपाई अलि छिटो भयो सापकोटाले भने,–‘पहिले त गाउँभरी सबैको एकै पटक भएर होला भन्ने लाग्थ्यो । यसपाली असारको पहिलो साता नै खेत रोपाइँ गर्न खोज्दा पनि खेतला पाउन मुस्किल भयो । बल्लतल्ल दुई दिन लाग्ने मेलो ३ दिनमा सकियो अझै केही दिनलाई बाँकी छ । त्यो कसरी रोप्ने हो गाह्रो भैरहेको छ ।’
गाउँमा भएका युवाहरु पनि जिल्ला बाहिर र विदेशीएका कारण काम गर्ने खेताला पाउन छाडेको सापकोटा बताउँछन् । कुँडुलेमा मात्र हैन यो समस्या जिल्लाको गलकोट, बडिगाड जैमिनी, बागलुङ र ढोरपाटन क्षेत्रका किसानहरुलाई पनि रहेको छ । गलकोट क्षेत्रमा जेठको तेस्रो सातादेखि नै सुरु गरिएको रोपाइँ अन्य क्षेत्रमा भने खोला किनार तथा तटीय क्षेत्रमा सुरु भएको छ । कृषकहरु यतिबेला धान रोप्नमै व्यस्त छन् ।
समयमै पानी परेकोले धान रोप्न निकै सहज भएको किसानहरु बताउँछन् । पहिलेको वर्षहरुमा भन्दा अहिले समयमै पानी पर्यो, यस कारण किसानलाई सहज भएको छ,’ बागलुङ नगरपालिका–४ का वडा अध्यक्ष धुब्रबहादुर केसीले भने,–‘समयमै धान रोप्न सुरु भयो । यस वर्ष उत्पादन पनि राम्रै होला आशा गरौं ।’ केसीका अनुसार पछिल्लो समयमा धान कोदो रोप्नका लागि खेतला पाउन कठिन रहेको छ । युवाहरु विदेशतिर पलायन हुनुका कारण खेताला पाउन मुस्किल रहेको उनले बताए ।
युवाहरुले विदेश नै रोज्नु भन्दा गाउँकै माटोमा परिश्रम गरे खेतबारी बाँझो पनि नरहने गाउँमा खेतीपाती लगाउन पनि सजिलो हुने जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना बताउँछन् । ‘पहिले गाउँमा सबै युवाहरु हुन्थे, बर्खा सुरु भएपछि सबै मेलामा जान्थे, अर्मपर्म हुन्थ्यो सबै हुँदा पहिले एकता थियो ढुंगानाले भने,–‘अहिले सबै युवाहरु विदेशमा छन् जसले गर्दा खेती पाती लाउन अर्मपर्म चल्दैन खेतला पाईदैन । जसका कारण जमिन नै बाँझो राख्न बाध्य हुनुपर्ने अवस्था आएको छ ।’
‘कृषि ज्ञान केन्द्र बागलुङका अनुसार जिल्लामा झण्डै २५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा कुल ७ हजार ७ सय ७५ हेक्टर जमिनमा धान रोपाइँ हुने गर्दछ । हालसम्म करिब १२ सय हेक्टर जमिनमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र बागलुङका कार्यालय प्रमुख भानुभक्त भट्टराईले बताए । ‘यस वर्ष वर्षा निरन्तर परेको छ । सिमसार क्षेत्र मात्र हैन अन्य क्षेत्रमा पनि रोपाइँ हुन्छ,’ भट्टराईले भने,–‘अघिल्लो वर्ष भन्दा रोपाइँ बढि हुने विश्वास गरेका छौं । पानी नियमित परेमा लगभग सबै क्षेत्रमा राम्रो रोपाइँ हुनेछ ।’ यस वर्ष झण्डै ९५ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुने ज्ञान केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend