
काठमाडौं । निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान शुरु हुँदैछ । नागरिक उडड्यन प्राधिकरणले दैनिक आठ वटा जहाजले ६४ वटा उडान गर्न अनुमति दिई उडान सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि आन्तरिक उडान नियमित रुपमा शुरु गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा कायमै रहेको र कोरोना भाइरस ९कोभिड–१९० संक्रमण रहेकाले त्रिभुवन विमानस्थलले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्ने तयारी समेत गरेको छ । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ ।
बिहीबारबाट विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुनेछ । उडान भर्ने अनुमति दिइएका मध्ये बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ । यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले ७, सौर्य एयरलाइन्सले ३ उडान पाएको छ ।
प्रत्येक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend