
कञ्चनपुर । यो वर्षको मनसुनमा कञ्चनपुरमा ६५ हजार बढी जनसस्ंख्या प्रभावित हुनसक्ने आँकलन गरिएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै निर्माण गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ ले कञ्चनपुरमा ६५ हजार बढी जनसस्ंख्या प्रभावित हुनसक्ने आँकलन गरेर पूर्वतयारी गरेको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिएको छ । निर्माण गरिएको योजना अद्यावधिक गर्ने कार्यलाई अगाडि बढाइएको छ ।
रेडक्रसले कञ्चनपुर जिल्लाका नौवटै स्थानीय तहमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि सरकारी, निजी र नागरिक समाजसँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापलाई निरन्तरता दिएको छ । “मौसम पूर्वानुमान माहाशाखाले यस वर्ष नेपालमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिसकेको छ”, रेडक्रस कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेतीले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा पनि यस वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान छ । जसमा कञ्चनपुर पनि बाढीजन्य प्रकोपको उच्च जोखिममा छ ।”
उनका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा मनसुनजन्य विपद्बाट सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १८ हजार १३ जना बाढीबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । यसैगरी, दोधारा चाँदनी नगरपालिकामा दुई हजार ३३३, बेदकोटमा नौ हजार ४४७, शुक्लाफाँटामा सात हजार ७१३, कृष्णपुरमा नौ हजार ९०, पुनर्वासमा तीन हजार ९२९, बेलौरी नगरपालिकामा आठ हजार १७ जना बाढीबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । लालझाडीमा चार हजार १९३ र बेलडाडी गाउँपालिकामा छ हजार ३०० गरी कूल ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ र कञ्चनपुरमा ११ हजार ८२५ घर प्रभावित हुनसक्ने आकलन गरिएको छ ।
रेडक्रसले पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र ९डिइओसी¬०कोे समन्वयमा बाढी पूर्वतयारीका लागि जिल्लामा नदी तथा वर्षामापक अवलोकनकर्ताको सम्पर्क नम्बर पुनरावलोकन गर्ने कार्य पूरा गरेको छ । अवलोकनकर्तालाई प्रोत्साहनस्वरुप ३४ थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री गमबुट, हाते टर्च, छाता, हेड टर्च र रिचार्जका लागि रु एक हजार र दुर्घटना बीमा गर्ने कार्यको व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख उप्रेतीले बताए ।
मछेली नदीको उदगमस्थान गोदावरी कोल्मोडा सोत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने र मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुसार काम भइरहेको उने जानकारी दिए ।
रेडक्रसले विपद् व्यवस्थापन चक्रअनुसार विपद् पूर्वतयारीका लागि समुदायमा विपद्बारे जागरण गराउने, क्षमतामूलक तालिम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने र समुदायको जोखिमको पहिचान गरी कार्ययोजना निमार्ण गर्ने कार्यलाई अगाडि बढाएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend