आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

पनौतीमा भेटियाे दुर्लभ सालक

पनौतीमा भेटियाे दुर्लभ सालक

काभ्रे । काभ्रेको पनौतीमा दुर्लभ सालक भेटिएको छ । पनौती नगरपालिका-८ पाल्पाली गाउँमा विश्वमा दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालक भेटिएको हो । बुधबार राति एक घरको आँगनमा सालक भेटिएको धुलिखेलस्थित डिभिजन वन कार्यालयले जनाएको छ । 

नेपालमा रहेका स्तनधारी जनावरमध्ये लोपोन्मुख जातिभित्र पर्ने  सालक बिहीबार पनौती प्रहरी र वन कार्यालयका कर्मचारीद्वारा मल्पीस्थित सामुदायिक वनमा छाडिएको छ । पनौतीमा भेटिएको उक्त वयस्क ‘चाइनिज पाङ्गोलिन’ रहेको वन कार्यालय प्रमुख देवीचन्द्र पोखरेलले बताए । उनका अनुसार नेपालमा भेटिने गरेका अधिकांश ‘चाइनिज पाङ्गोलिन’ नै रहेका छन् । 

काभ्रेपलाञ्चोकमा भने सालकको बासस्थान अनुसन्धान तथा संरक्षण अभियान बजेट अभावका कारण यो वर्ष रोकिएको छ । बाग्मती प्रदेश सरकारबाट दुई आर्थिक वर्षदेखि नियमित आउने बजेट चालु आर्थिक वषैमा रोकिएपछि सालकसम्बन्धी थप अनुसन्धान तथा संरक्षण अभियान रोकिएको हो । 

संरक्षण अभियानअन्तर्गत डिभिजन वन कार्यालयले सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न सम्भावित क्षेत्रमा चेतनामुलक कार्यक्रम सञ्चालन गरेको थियो । “प्रदेश सरकारबाट चालु आवका लागि बजेट नआउँदा सालकको थप अनुसन्धान तथा संरक्षणसम्बन्धी चेतनामूलक अभियान रोकिएको छ”, पोखरेलले भने । उनका अनुसार अघिल्लो आवमा बाग्मती प्रदेश सरकारले दुई लाख बजेट विनियोजन गरेको थियो भने गत आवमा पाँच लाख पठाएको थियो । 

अभियानकै क्रममा सालकको उपयुक्त बासस्थान भएका क्षेत्रका बासिन्दा सालक ‘गुणी’ जनावर भएको जानकारी पाएपछि यसको संरक्षणमा पनि निकै उत्साहित देखिएका थिए । जिल्लाको कुनकुन क्षेत्रमा सालक पाइन्छ भन्नेबारे कार्यालयले स्थानीय तहको समन्वयमा कार्यक्रम विस्तार गर्दै जाने योजनासमेत बनाएको पोखरेलले बताए । उनले भने, “हामीले सालकबारे पाँचवर्षे योजना बनाउने प्रक्रियामा थियौँ, बजेट रोकिँदा यसप्रति थप अनुसन्धान र गतिविधि गर्न सकिएन ।” 

सालकको उपयुक्त बासस्थान मानिएको काभ्रेपलाञ्चोकको महाभारत पर्वत शृङ्खलासँग जोडिएको क्षेत्र बल्थली र पाँचखाल नगरमा दुई वर्षअघि पहिलो चरणको चेतनामूलक कार्यक्रम भएको थियो । जिल्लाको अधिकांश सामुदायिक वनमा सालकको सुरक्षित बासस्थान भएकाले सालकको मासु तथा छाला ९खपटा० तस्करी रोक्न स्थानीयस्तरमा चेतनामूलक कार्यक्रम आवश्यकता देखिएको छ । “यो मानिसका लागि उपयुक्त जनावर हो, यसले अन्नबालीमा लाग्ने कमिला र धमिरा खान्छ, पर्यावरणलाई जोगाउन मद्दत पु¥याउँछ, मानिसलाई भने आक्रमण गर्दैन”, पोखरेलले थपे । उनका अनुसार सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खान सक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । 

अध्ययन प्रतिवेदनअनुसार एउटा वयस्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गर्दछ । प्वाल बनाएर जमीनमुनि बस्ने लजालु स्वाभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने गर्दछ । दुर्लभ सालक जिल्लामा कति छ भन्ने कुनै स्पष्ट तथ्याङ्क नभए पनि कालो सालक खोपासी, उग्रतारा जनागाल, महादेवस्थान, नारायणस्थान, डराउनेपोखरी, पाँचखाल, ज्याम्दी, ढुङ्खर्क तथा पाँचखाल क्षेत्रका सामुदायिक वनमा सुरक्षित बासस्थान रहेको उसको बासस्थानबाट देखिएको अनुसन्धानबाट खुलेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend