बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै कलाकारले दिए महानरपालिकामा निवेदन

भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै कलाकारले दिए महानरपालिकामा निवेदन

काठमाडौं । कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै कलाकारहरुले महानरपालिकामा निवेदन दिएका छन् ।

कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् । 

दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आईतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत् मेयरलाई निवेदन दिएका छन् ।

शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा-२८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ । तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार शहरको सौन्दर्यमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो ।

Paint-ratnapark.jpg

कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारी विरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई थोरै भएपनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफुहरुले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरी सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे । 

कलाकारहरुको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिका भित्रको महत्वपूर्ण ठाउँहरुमा कुनैपनि काम गर्दाखेरी महानगरपालिकाबाट स्वीकृती र सहमती लिनुपर्ने बताए । वडा कार्यालयसँग सहमती लिनु अघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने उनको भनाइ छ ।

महानगरपालिका आफैले पनि केही स्थानहरुमा सम्पदाको चिनारी गराउने कार्यक्रम राखेको उल्लेख गर्दै उनले कलाकारहरुले बनाएको चित्रले दिनुपर्ने सन्देश तीन हप्तामै दिइसकेको विश्लेषणसाथ महानगरपालिकाले चित्र मेटेको बताए । 

कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या’, ‘सक्छस् सम्मान गर नत्र अपमान नगर’, ‘पुर्नस्थापना गर’, लगाएको प्लेकार्ड सहित महानगरपालिका अगाडि धर्ना पनि दिएका थिए ।

रत्नपार्कको आकाशे पुलको पर्खालमा चार जना कलाकार र तीन जना स्वयंसेवककले ७ दिन लगाएर जेठ ३० मा निर्माण सकेको चित्र महानगरपालिकाले मेटाएपछि उनीहरुले चित्र काेर्न पाउनुपर्ने मागसहित महानगरपालिकामा निवेदन दिएका हुन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend