बुधबार, असार ३२ २०८२

बुधबार, असार ३२ २०८२

बिकाशले दिएको पीडा : सडक खन्दा गाउँ भासियो, १६ दिनदेखि ६ सय जनाको जंगलमा बास

बिकाशले दिएको पीडा : सडक खन्दा गाउँ भासियो, १६ दिनदेखि ६ सय जनाको जंगलमा बास

बझाङ । गाउँमुनिबाट खनेको सडकले बस्ती भासिएपछि बाजुराको दुर्गम हिमाली गाउँपालिकाका दुई गाउँका १ सय ३७ परिवार विस्थापित भएका छन् । १६ दिनदेखि जंगलमा बसिरहेका उनीहरू कन्दमूलले छाक टार्दै ओडार र रूखको ओत लागेर रात काटिरहेका छन् । हिमाली–४ को फैती गाउँका ४० र वडा ५ को क्युडीका ९७ परिवार बिचल्ली परेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

हामी जंगलमा छौं,’ वडा सदस्यसमेत रहेका पीडित वीरबहादुर बुढाले भने, ‘चिसो भुइँमा सुत्नुपरेकाले धेरै जना बिरामी हुन थालेका छन् ।’ बस्ती रहेको ठाउँको तल सडक र माथि दुवैतिरबाट निरन्तर पहिरो खस्न थालेपछि घर छाडेका सबैलाई खाद्यान्न र खानेपानीको पनि समस्या भएको उनले बताए ।

पहिरोका कारण जंगलमा बस्नुपर्दा महिला र बालबालिकालाई बढी समस्या भएको विस्थापित परिवारकी मनसरी बुढाले बताइन् । ‘खाने गाँस छैन । बालबच्चा भोकभोकै छन् । खुला ठाउँमा बस्नुपर्दा सबैभन्दा बढी हामी महिलालाई समस्या भएको छ,’ उनले भनिन् । ३ सय ५० महिला र बालबालिकासहित ६ सय जना विस्थापित भएका हुन् ।

‘सडकले गाउँको तल्लो भाग खनेकाले गाउँ नै भासिएको रहेछ,’ पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि फर्केका गाउँपालिकाका रोजगार संयोजक बिर्ख पाण्डेले भने, ‘गाउँ नै चिराचिरा परेर भासिएको छ । कुनै घर भत्किसकेका छन् । कसैका घर बाँगाटिँगा भएका छन् ।’

जमिन भासिएर कमजोर भएपछि गाउँको बीचभाग भएर बग्ने खहरे खोलाले पनि कटान गरेकाले झन् बढी क्षति भएको उनले बताए । ‘ठूलो वर्षा भयो भने एकै पटक गाउँ नै बगाउने अवस्था छ,’ उनले भने । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा भर्खर निर्माण हुँदै गरेको रुगिन–बिच्छिया पहुँचमार्गका कारण गाउँमा पहिरो खसेको पाण्डेले बताए ।

विकट ठाउँ भएकाले राहतको व्यवस्थापन गाह्रो परेको गाउँपालिका कार्यालयले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend