
जनकपुर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश र लोकतन्त्र विरोधी भएको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय सदस्य महादेव यादवको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउन जनकपुर पुगेका प्रचण्डले प्रधानमन्त्री ओली निरंकुश र लोकतन्त्र विरोधी भएको आरोप लगाउँदै अब प्रधानमन्त्रीको दबावले केही पनि हुन नसक्ने दाबी गरे ।
प्रचण्डले संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्यमान्यता अनुसार संसद पुर्नस्थापना हुने दाबी पनि गरे । संसद् पुर्नस्थापना मात्र नभइ कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधाजमन्त्री नियुक्त गर्न अदालतले परमादेश जारी नगर्ने उनको विश्वास छ ।
‘अहिले सरकारले संविधान मिच्ने, लोकतान्त्रीक मूल्य र मान्यतालाई कुल्चने काम गरेको छ त्यसैले यस्तो अवस्थामा संसद पुर्नस्थापना मात्रै होइन कि मलाई विश्वास छ १ सय ४९ सदस्यको हस्ताक्षर सहित राष्ट्रपति कहाँ बुझाएको आधारपत्र र १ सय ४६ को हस्ताक्षर सहित सर्वोच्च रिट प्रतिवेदनका आधारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ भन्ने मलाई पुर्ण विश्वास छ’, प्रचण्डले भने, ‘संसद पुर्नस्थापना नहुनुको अर्थ संविधान मिचे पनि भयो, लोकतन्त्र मिचेपनि भयो जनताको भावना विपरित जे पनि गरे हुन्छ भन्ने नजिर स्थापना हुन्छ,’ उनले थपे, ‘त्यसैले यस्तो हुदैंन् भनेर म कल्पना समेत गर्न चाहदिन ।’
तीनवर्षदेखि क्यान्सर पीडित यादवको ५७ वर्षको उमेरमा गएराति आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा मृत्यु भएको हो । उनलाई श्रद्धाञ्जली दिन अध्यक्ष प्रचण्ड, मातृका यादवसहितका शीर्ष नेताहरु जनकपुर पुगेका छन् ।
साविक धनुषाको सहिद नगरनगरपालिका १ बालाबाखका नेता यादवले तत्कालिन माओवादीको जनयुद्धमा सुरुदेखि नै सहभागी भएर महोत्तरी, धनुषा र सिरहाको कमाण्ड सम्हालेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend