आइतबार, असार २९ २०८२

आइतबार, असार २९ २०८२

आगामी चुनावमा पनि भित्तेलेखन गर्न पाइन्नः मेयर शाक्य 

आगामी चुनावमा पनि भित्तेलेखन गर्न पाइन्नः मेयर शाक्य 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी चुनावमा पनि भित्तेलेखन गर्न नदिने स्पष्ट पारेका छन् ।

कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि शाक्यको विरोध भइरहेका बेला उनले आगामी चुनावमा पनि भित्तेलेखन गर्न नदिने स्पष्ट पारेका हुन् । 

आफू मेयर निर्वाचित भएपछि संघीय र प्रदेशसभाको चुनावमा समेत शहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको भन्दै उनले आउँदो चुनावमा पनि ति काम निषेध गर्ने स्पष्ट पारे । 

संघीय र प्रदेशसभाको निर्वाचन हुँदा म काठमाडौँ महानगरपालिकाको मेयर थिएँ’, उनले भने, ‘सहरका कुनै पनि भित्तामा मेयरको उम्मेदवार हुँदा र पछिका निर्वाचनमा समेत त्यस्तो कार्य गर्न निधेष थियो । त्यो बेला पनि त सुन्दर नारा लेख्न सकिन्थ्यो होला । त्यो निधेष गरिएको भएर नै नदिएको हो, नगरेको हो । आगामी निर्वाचनमा पनि ती कार्य निधेष नै गरिन्छ ।’ मेरो कार्यकर्ता हो, मेरो मान्छे हो, त्यसैले पाउनुपर्छ भन्ने ढंगले अघि बढ्ने हो भने समस्या हुने उनको भनाइ छ । 

काठमाडौँ महानगरपालिकाले बनाएको कानुन-नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्नेमा उनको जोड छ । ‘हामी नीति बाहिर जानुहुन्न,’ शाक्यले भने, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन-नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ 

शाक्यले ‘कोभिड फ्रन्टलाइनरहरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको आरोप पनि लगाए । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरुलाई व्यक्तिगतरुपमा धन्यवाद,’ शाक्यले भने, ‘तर, सर्वोचको आदेश र महानगरपालिकाको कानुन-नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न पाइन्न ।’ 

उनले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको बताए । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु’, शाक्यले भने, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङबोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइन्छिौँ भनेर नीति-नियमको उल्लङ्घन गरी योजनावद्द ढंगले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’  

०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्ते लेखन, पोष्टर, पम्पेटलगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ । 

सर्वोच्चको आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’ 

उनले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिए ।  ‘नीति सबैका लागि बराबर हुन्छ’, शाक्यले भने, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भैरहेको छ । त्यो होइन, निधेष गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’

यसअघि कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र काठमाडौं महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दे महानगरलाई निवेदन दिएका हुन् । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend