काठमाडाैं । ‘बाँदरको जमात र अमृतपानको सपना’ नामक कविता सुनाएका कारण आलोचनाको सिकार बनेकी राष्ट्रियसभा सदस्य काेमल वलीले आफ्नाे भनाइ काेही व्यक्तिप्रति लक्षित नभएकाे बताएकी छन् ।
सोमबार राष्ट्रिय सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले उक्त कविता वाचन गरेकी थिइन् । एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी वलीले कविताका माध्यमबाट विपक्षीप्रति अभद्र व्यवहार प्रस्तुत गरेको आरोप लगाएकी थिइन् ।
याे पनि पढ्नुहोस् ।
दलहरुलाई काेमल वलीकाे प्रश्न : याेभन्दा ‘बाँदर चरित्र’ के हुन्छ ?
उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्टीकरण दिएर लेखेकी छन् ‘मेरा कुनै धारणाहरु व्यक्तिप्रति लक्षित छैनन् । मेरो देश समाज र जनताप्रति समर्पित छ । देश र जनताका लागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन ।’
यस्ताे छ उनले सामाजिक सञ्जालमा लेखेकाे स्ट्याटस :
देश र जनता भन्दा ठूलो कोहि हुँदैन ! हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि हो । दुनियाँमा हामी भन्दा कमजोर देशहरु आफुलाई प्रगतिको मार्गमा अगाडि बढाएका छन् । शिक्षा स्वास्थ्य र खानपिन र रहनसहनको निम्ति कसैको हात थाप्नु पर्दैन । कुनै पनि राज्यका संरचना संचालन गर्न बिदेशीको ऋण लिनु पर्दैन । तर हामी आज कहाँ छाैँ ? अझै पनि हामी खानका निम्ति हात थाप्नु पर्ने ओषधीको अभावमा मर्नु पर्ने, हाम्रो शिक्षालाई कसैले स्विकार नगर्ने, हाम्रो शिक्षा रोजगारी मुलक पनि नबन्ने यस्तो कहालिलाग्दो अवस्थामा नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु यो भन्दा बाँदर प्रवृत्ति के हुन्छ ?
मेरा कुनै धारणाहरु व्यक्ति प्रति लक्षित छैनन् । मेरो देश समाज र जनता प्रति समर्पित छ । देश र जनताकालागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन । कसैलाई निरुत्साहित गर्न कसैका व्यक्तिगत कुराहरु उठाएर बहादुरी पनि प्राप्त हुँदैन । प्रतिस्पर्धी बन्न पनि सकिँदैन । यो कुरा एकपटक भैातिक शरिरबाट अन्त हुनेहरुले सोच्नु नै पर्दछ ।
यस्तो थियाे ओलीकाे कविता :
“बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्ष्याकाे भट्टीमा आफैलाई भुटेका छन्,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन् ।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे ।
आखिर बाँदर न हुन् ,
भोलीको प्रतिक्षा कहाँ गर्छन् ?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको ।
बाँदरहरु खेती गर्देनन्, बाली बिनास गर्छन् ।
कहिले ढेडुहरुसंग मिल्छन् कहिले गोईलानहरुसँग मिल्छन् ।
कर्मको कुटो नलगाउने यी बाँदरहरु
अमृतपान गर्ने सपना देख्छन् ।
बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन ।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन ।