
काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको ‘भेरो सेल’ खोपको दोस्रो मात्रा ज्येष्ठ नागरिकलाई लगाउन सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबारदेखि देशभरिका तीन हजार ९०० खोप केन्द्रबाट ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको जनाएको छ ।
बिहान १० बजेदेखि खोप लगाउने भनेपछि खोप लगाउन जानेको भिड छ ।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा झलक शर्मा गौतमले झण्डै पाँच लाख जनालाई भेरोसेलको दोस्रो मात्रा दिने योजना रहेको जानकारी दिए ।
खोप बिहीबारसम्म लगाइनेछ । उनका अनुसार गत जेठ २५ देखि २९ गतेसम्म लगाएका ज्येष्ठ नागरिक र त्यसअघि भेरो सेलको पहिलो मात्रा लगाएर छुट भएका व्यक्तिलाई पनि दोस्रो मात्रा दिइने छ ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कागज अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ५९ हजार ९५४ जनाले कोरोनाविरुद्धको खोपको दुई डोप पाएका छन् भने २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा मात्रै लगाएका छन् ।
तस्बिर : रासस
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend