आइतबार, साउन ४ २०८२

आइतबार, साउन ४ २०८२

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तको पत्तो छैन, अवरोधमै अल्झियो प्रहरी

सुजिता भण्डारी मृत्यु प्रकरण : अभियुक्तको पत्तो छैन, अवरोधमै अल्झियो प्रहरी

काठमाडाैं । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले १०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।

असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी शंकास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ ।

प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, ‘हामीले १०० भन्दा बढी व्यक्तिसँग सोधपुछ गर्‍यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।’

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाइ थपेको उनले बताए । उनले भने, ‘काठमाडौंमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।’

बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ । 

उनले भने, ‘अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनुपरेको छ ।’ घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उनको भनाइ छ ।

भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ । 

‘शव भेटिएदेखि नै अनुसन्धानको कामलाई अप्ठ््यारोमा पार्ने काम भएको छ,’ उनले भने, ‘शव परीक्षणका लागि ल्याउने समयदेखि नै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।’

आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका उनको भनाइ छ । 

प्रहरी उपरीक्षक अधिकारीले स्थानीयलाई अनावश्यक हल्लाको पछि नदौडिनसमेत आग्रह गरे । उनले भने, ‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।’

अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चारमाध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उनले जानकारी दिए । शव भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए ।

अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उनको भनाइ छ । अहिलेसम्म प्रहरीले स्थानीय र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मंगलवारबाट कर्फ्यू जारी गरेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend