
काठमाडौं । अनुमति लिएका निजी क्षेत्रका सीमित व्यक्ति र कम्पनीले कोभिड–१९ विरुद्धको खोप ल्याउन नसकेपछि सरकारले अरू व्यक्ति र कम्पनीलाई पनि अनुमति दिने भएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले खोप कम्पनीसँग सम्बन्ध भएका व्यक्तिले खोप ल्याउन चाहे अनुमति दिन सकिने नीतिगत निर्णय भइसकेको जानकारी दिए । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
विभागले गत चैत १ मा खोप आयात गर्न चाहने निजी कम्पनीबाट अनुमतिका लागि निवेदन आह्वान गरेको थियो । जसअनुसार भारत बायोटेक कम्पनीले उत्पादन गर्ने कोभ्याक्सिन ल्याउन इमरल्ड फर्मा, रुसको गमालिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ का लागि लोमस फर्मास्युटिकल्स र सिरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन कोभिसिल्ड आयात गर्न हुकम फर्मास्युटिकल्सले अनुमति पाएका थिए ।
आयात अनुमतिका लागि खोप उत्पादन गर्ने कम्पनीको मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा, शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत राखेर नयाँ कम्पनीले मूल्य प्रस्ताव गर्नुपर्ने हुन्छ । प्रस्ताव गर्दा खोपमा आपूर्ति गर्न सकिने परिमाण र लाग्ने समयको प्रक्षेपणसमेत पेस गर्नुपर्छ ।
यसअघि तीन कम्पनीका नेपाली एजेन्टले यही प्रक्रिया पूरा गरी आयात अनुमति पाएका थिए । चीनको लाइफ साइसेन्स कम्पनीले उत्पादन गरेको सिनोभ्याकका लागि भने नेपाल एजेन्टको आधिकारिकता टुंगो लाग्न बाँकी भएकाले विभागले आयात अनुमति दिएको छैन ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend