
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-जामुने खण्ड चार घण्टापछि एकतर्फी खुलेको छ । म्याग्दे गाउँपालिका-१ बरचौरमा शनिबार बिहान ४ बजे पहिरो खसेपछि अवरुद्ध राजमार्ग ४ घण्टापटि खुलेको प्रहरीले जनाएको छ । पहिरोसँगै राजमार्गको बीचमा ठूलो ढुङ्गा समेत खसेको छ ।
पहिरो हटाएर राजमार्ग एकतर्फी सुचारु गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । शुक्रबार र शनिबार वर्षा नभएपनि केही दिनदेखि परेको वर्षाले माटो कमजोर भएर पहिरो खसेको प्रहरीको अनुमान छ । ठूला-ठूला ढुङ्गा खसेकाले दुईतर्फी राजमार्ग खुलाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ ।
यसैबीच पहिरो खसेपछि अवरुद्ध बनेको बेनी-जोमसोम सडकखण्ड खुलाउने प्रयास भइरहेको छ। सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको हो ।
म्याग्दी र मुस्ताङलाई जोड्ने बेनी-जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रेभीरमा पहिरो खसेपछि सडक अवरुद्ध छ । यस्तै मंगला, मालिका र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी ४ तातोपानी नजिकै घुमाउने भीरमा र बेनी-बागलुङ सडकखण्डअन्तर्गत बेनी १ रत्नेचौरको रानीवन क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले जानकारी दिए । उनका अनुसार अरु पनि थुप्रै ठाउँमा पहिरो खसेको छ । अहिले डोजर लगाएर पहिरो हटाउने काम भइरहेको उनले बताए ।
सडक अवरुद्ध भएपछि निर्माण सामग्री, मालसामान तथा दैनिक उपभोग्य बस्तु बोकेका गाडी बीच बाटोमै रोकिएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend