
गोरखा । गोरखामा ३२ लाख रुपैयाँ चोरी भएको छ । गएराति गोरखाको भीमसेन थापागाउँपालिका-७ बोर्लाङ्गमा रहेको भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३२ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
सहकारी कार्यालयको च्यानल गेट फुटाएर चोरी भएको सहकारीका सञ्चालक समिति सदस्य बुद्धि श्रेष्ठले बताए ।
उनका अनुसार सहकारीमा कारोबार भएको ५२ लाखमध्ये ३२ लाख चोरी भएको हो। ‘भीमकुल बचत तथा ऋण सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारी हो’, उनले भने, ‘यहाँ दैनिक २० देखि ३० लाख कारोबार हुन्छ ।’ असार मसान्त भएकाले कारोबार अझ बढी भएको उनको भनाइ छ ।
‘शुक्रबार बेलुकीसम्म जम्मा भएको नगद आइतबार सदरमुकामस्थित बैंकमा जम्मा गर्ने तयारीमा थियौँ’, श्रेष्ठले थपे, ‘लगातारको वर्षाका कारण सदरमुकामसम्म पुग्न कठिन भएकाले समस्या भइरहेको थियो ।’ सिसिटिभी फुटेजमा चोरीमा संलग्नले ताल्चा फुटाउन प्रयोग गरिने सामग्री बोकेर आएको देखिएको श्रेष्ठले बताए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend