काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ४ बजेका लागि बोलाएको स्थायी कमिटी बैठक अझै बस्न सकेको छैन । बिहान ९ बजे सुरु एमाले एकता कार्यदलको बैठक निश्कर्षमा पुग्न नसकेपछि स्थायी कमिटी बैठक अझै बस्न नसकेको हो ।
यसअघि कार्यदलले सहमति तयार गरे स्थायी कमिटीमा अनुमोदनका लागि पेश गरिने नेताहरुले बताएका थिए । बैठकमा कार्यदलका सदस्यहले सहमतिपत्रलाई अन्तिम रुप दिई त्यसमा हस्ताक्षर गर्ने तयारी गरेको भनिएपनि ढिलाइ हुँदा बैठक अनिश्चित भएको छ। बैठक सकिएपछि सहमति सार्वजनिक गर्ने र आइतबार नै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने तयारी छ ।
कार्यदलले तयार गरेको सहमतिको खाकालाई शीर्षनेतासँगको परामर्शमा भाषिक परिमार्जन गरेर सार्वजनिक गर्न लागिएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला गत जेठ ८ गते दोस्रोपटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।
अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् भने नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन्।
कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल सदस्य छन् भने नेता नेपालको तर्फबाट भीमबहादुर रावल, घनश्याम भुषाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य छन् ।