
बाँके । नेपालगञ्ज बाँके प्रहरीले संरक्षित रेड पाण्डाको छाला र भालुको पित्तसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले आइतबार पत्रकार सम्मेलन गरेर कारोबारमा संलग्न मानिसहरुलाई सार्वजनिक गरेको हो । लुम्बिनी प्रहरी प्रदेश कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।
प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिक रहेको राप्ती गेष्टहाउसको कोठा नं. १० बाट दाङ्ग घोराही उपमहानगरपालिका वडा नं. ४ का ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउपालिका–१ का २१ वर्षीय रोबिन बुढालाई शनिबार राती पौने ९ बजेको समयमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिए । प्रहरीले उनीहरुको साथबाट संरक्षित रेड पण्डाको छाला १ थान, भालुको पित्त जस्तो देखिने वस्तु ४ थान बरामद गर्न सफल भएको जनाएको छ ।
प्रहरीले बरामद सामानसहित तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाँकेमा पठाउने जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ३ जना माथि वन ऐन २०७६ को दफा ४९ को (त) कसुरमा निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९१० बमोजिम ५ लाखदेखि १० लाखसम्म जरिवाना र ५ ५देखि १५ वर्षसम्म कैद वा दुबै सजाय हुनसक्ने प्रावधान रहेको छ ।
बाँके प्रहरीले असार महिनामा मात्रै चरीबाघको छाला, चितुवा प्रजातिको छाला, रेड पण्डाको छाला र भालुको पित्त जस्ता संरक्षित र दुर्लभ बन्यजन्तुको चोरी सिकारीको अभियोगमा विभिन्न मितिमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend