काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौ पटक नेपालको प्रधानमन्त्री बनेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् ।
यसअघि ४९ वर्षको उमेरमा वि.स. २०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री बनेका देउवा त्यसपछि २०५८ साउन ११ मा दोस्रो पटक र २०६१ जेठ २१ मा तेस्रो पटक प्रधानमन्त्री बने ।
त्यसपछि संविधान जारी भएपछि २०७४ जेठ २४ मा चौथो पटक प्रधानमन्त्री बनेका कांग्रेस सभापति देउवा मंगलबार पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् ।
प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी संघ (नेवि) संघका प्रथम सभापति हुन् । नेपाली राजनीतिमा सदाबहार चर्चामा रहने देउवा सुदूरपश्चिममा नेपाली कांग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन् ।
देश र जनताका लागि संघर्ष गरेका उनले विभिन्न समयमा गरी ९ वर्ष जेलजीवन बिताएका छन् । २०५९ सालमा नेपाली कांग्रेससंग फरक मत राख्दै उनले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । त्यही पार्टीबाट उनी ६१ सालमा प्रधानमन्त्री बने ।
वि.सं. २०६४ सालमा तत्कालिन कांग्रेस प्रजातान्त्रिकलाई नेपाली कांग्रेससँग एकीकरण गेरर उनी वरिठ नेतामा स्थापित भए । प्रजातन्त्र प्रतिको अटुट लगाव र संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि सधैँ क्रियाशील रहे ।
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनमा रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा नेपाली कांग्रेसको पार्टी सभापतिमा विजय भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम ए गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् ।
२०७४ को आम चुनावमा जनताले कांग्रेसलाई सरकारमा जाने ‘म्यान्डेट’ दिएका थिएनन् । तर सत्तारूढ दल नेकपा र पछि नेकपा एमाले भित्रको शक्ति संघर्ष र प्रधानमन्त्री ओलीको दम्भको परिणामले देउवालाई नेपालको पाचौ पटक प्रधानमन्त्री भएर इतिहास लेख्ने सौभाग्य जुरायो ।
नेपाली कांग्रेसका प्रभावशाली नेताहरु किशुनजी र गणेशमान सिंहसँगको सहयात्रामा अगाडि बढेका देउवा कोइराला परिवारको छात्रछायामा हुर्केका नेता हुन् ।
यसरी राजानैतिक यात्रा अगाडि बढाएका देउवा प्रधानमन्त्री केपी ओलीले पहिलोपल्ट २०७७ पुस ६ गते प्रतिनिधिसभा विघटन गर्दा पुनःस्थापनाको पक्षमा थिएनन् । चुनावतिरै उनको जोडबल थियो । अदालतले विघटन बदर गरेपछिको समयमा ओलीले लिएका असंवैधानिक कदमले देउवाले नचाहँदा नचाहँदै कांग्रेस विपक्षी गठबन्धनको दबाबमा जवरजस्ती जस्तै प्रधानमन्त्री बन्ने अवसर पाएका हुन् ।
यसरी गठबन्धनबाट प्रधानमन्त्री बनेका उनलाई पहिलो चुनौती गठबन्धन दलमा समझदारी जुटाएर मन्त्रिपरिषद् गठन गर्नमा छ । यसरी मन्त्रिपरिषद् विस्तार गर्दै संसद्लाई पूर्ण अवधि टिकाउने चुनौती पनि देउवासमक्ष छ ।
संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा देउवा छन् भने संसदबाट विश्वासको मत पाउन नसके ६ महिना भित्र चुनाव गराउने मुख्य दायित्व उनैमा छ ।
यी अनेक चुनौतीलाई चिर्दै कोभिड १९ बाट अत्तालिएका नेपाली जनतामा आशा उत्साह छर्दै देउवाले शाषण गर्न सक्लान् त्यो भने हेर्न बाँकी नै छ ।