काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले कांग्रेस पार्टीको बैठक बालुवाटारमा राखे । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले पार्टीको बैठक राखेपछि पार्टी भित्रै र बाहिर आलोचना भयो ।
सामाजिक सञ्जालमा समेत कांग्रेसले पनि निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षक केपी शर्मा ओलीको सिको गरेको भन्दै खुबै विरोध भयो । पार्टी भित्र र बाहिर आलोचना खेपेपछि कांग्रेसले अब बालुवाटारमा पदाधिकारीको बैठक नराख्ने भएको छ । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बिहिबार ट्वीट गरी अबदेखि बालुवाटारमा कांग्रेसको बैठक नबस्ने र विगतको गलत परम्परा तोड्ने बताएका छन् ।
खड्काले कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक शुक्रबार प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा बस्ने जानकारीसमेत दिएका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सानेपास्थित पार्टी कार्यलय आन्दोलन मय बनेको छ । कांग्रेस पार्टी कार्यालय अहिले विभिन्न जिल्लाका कार्यकर्ता र नेताहरुको अनसन स्थल बनेको छ ।
देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बस्ने कांग्रेस पदाधिकारीको बैठकमा पार्टीको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ । कांग्रेसमा क्रियाशिल सदस्यता नटुंगिएका कारण महाधिवेशनको निर्धारित कार्यतालिका समेत प्रभावित बन्ने देखिएको छ । कांग्रेसले यसअघि नै साउन १२ गते स्थानीय वडाको अधिवेशन सम्पन्न गर्ने तालिका तय गरेको थियो । कांग्रेसको केन्द्रीय महाधिवेशन भने भदौं १६ देखि १९ गतेका लागि तय गरिएको छ ।