काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले सो पार्टीको कार्यकारिणी समितिका सदस्यहरू सशरीर उपस्थित हुन भनेको छ ।
आयोगले साउन ११ गते बिहान ११ बजे जसपा कार्यकारिणी समितिका ५१ जना सदस्यलाई नागरिकताको सक्कल प्रमाणपत्र या मतदाता परिचपयपत्र लिएर आयोगको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । यो समाचार आजको नागरिक दैनिकले प्रकाशित गरेको छ ।
‘दल एकीकरण हुँदा सनाखत गरिएका केन्द्रीय कार्यकारिणी समितिका ५१ सदस्यलाई साउन ११ गते ११ बजे नागरिकताको प्रमाणपत्र या मतदाता परिचयपत्रको सक्कल प्रतिसहित उपस्थित हुन निर्देशन दिएका छौं,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने।
आधिकारिकता दाबी गर्दै बिहीबार जसपाका दुवै पक्षले आयोगमा बहस गरेका थिए। बहसपछि आयोगले उक्त निर्णय सुनाएको थियो। साउन ११ गते जसपाको आधिकारिकताको फैसला हुन सक्ने श्रेष्ठले बताए।