काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरू भएको छ।
बैठक प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान १० बजेपछि सुरु भएको हो । यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएपछि पार्टी भित्र र बाहिर चौतर्फी विरोध भएपछि शुक्रबारको बैठक सभापति देउवाको निजी निवासमा बसेको हो।
बैठकमा महाधिवेशन केन्द्रित छलफल भइरहेको कांग्रेसले जनाएको छ । शुक्रबार पदाधिकारीबीच केही सहमति जुटेमा केन्द्रीय समिति बैठक बोलाउने सम्भावना छ।
कांग्रेसले यसअघि नै आगामी भदौ १६ देखि भदौ १९ गतेसम्म पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि यही साउन १२ गतेदेखि वडा तहको निर्वाचन गर्ने मिति तय गरेको छ । पार्टी सरकारमा सहभागी भएका कारण र क्रियाशील सदस्यता समयमा नटुङ्गिएका कारण निर्वाचनको मिति हेरफेर हुने बुझिएको छ ।