काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापासँग नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् । बिहीबार थापासँग भेट गर्न केही नेतासहित विप्लव बूढानीलकण्ठ पुगेका हुन् ।
विप्लवसँगको भेटमा सौहार्दपूर्ण कुराकानी भएको थापाले जानकारी दिएका छन् । ट्वीटरमा सक्रिय थापाले विप्लव समूहका नेतासँगको भेट सौहार्दपूर्ण भएको बताएका हुन् । दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भएको उनको भनाइ छ । थापाले विप्लव सँगको भेटमा यसअघिको सरकारले गरेको तीन बुँदे सहमति कार्यान्वयनमा जोड दिएका छन् ।
‘दुवै पक्षबीच समसामयिक विषयमा विचार विमर्श भयो’, भेटपछि थापाले भने, ‘विप्लव नेतृत्वको नेकपासँग सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको छ ।’
थापालाई भेट्न विप्लव प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ र हेमन्त प्रकाश ओलीसहित बूढानीलकण्ठ पुगेका थिए । विप्लवसँगको भेटमा राप्रपा अध्यक्ष थापासँगै नेताहरु बुद्धिमान तामाङ, दीपक बोहरा र ध्रुववहादुर प्रधान सहभागी थिए ।