काठमाडाैं । एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि सापकोटालाई भेटेर उनले राजीनामा फिर्ता लिएका हुन् । रावलले आम नागरिककाे र पार्टीकाे आग्रह मानेर राजीनामा फिर्ता लिएकाे जनाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी भइरहेका बेला रावलले साउन ३ गते प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले रावललाई उनकै निवासमा पुगेर केही दिन अगाडि राजीनामा फिर्ता गर्न अनुरोध गरेका थिए । सोही अनुसार रावलले शुक्रबार राजीनामा फिर्ता लिएको संसद सचिवालय स्रोतको दाबी छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचमा अछामबाट प्रत्यक्ष निर्वाचित रावलले देउवालाई विश्वासको मत दिनुपर्ने अवस्था बनेपछि रावलले राजीनामा बुझाएका थिए । पत्रकारसँग कुरा गर्दै रावलले अनैतिक राजनीतिक खेलमा सहभागी हुन सक्ने अवस्था नभएको भन्दै राजीनामा दिएको बताएका थिए ।
एमाले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि सिर्जना भएको नेकपा विवादले एमालेभित्र ठूलो कलह सिर्जना गरेको छ । सोही कलह समाधान गरेर एकता प्रयासका लागि बनेको कार्यदलमा नेपाल पक्षीय संयोजकसमेत रहेका रावलले कांग्रेस सभापति देउवालाई विश्वासको मत दिनु अनैतिक हुने ठहर गर्दै राजीनामा बुझाएको स्वीकार गरेका थिए ।