काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्री केपी ओलीलाई तिघ्राको पिपको संज्ञा दिएका छन् । ओलीलाई समर्थन गर्दा पनि राम्रो काम नगरेको भन्दै उनले कटाक्ष गरेका हुन् ।
केसीले अरु बुर्जुवालाई छोडेर त्यतै लागेको तर अहिले त्यसैलाई फाल्नु परेको बताए । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोदनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा केसीले तिघ्रामा पिप जम्मा भएपछि फाल्नुपर्ने भन्दै ओलीमाथि कटाक्ष गरेका हुन् । नेकपा (एमाले)कै केही नेताले साथ दिएकाले ओलीलाई फाल्न सकिएको उनले स्वीकार गरे । यसले संविधान र अझै १८ महिनाका लागि प्रतिनिधिसभा जोगिएको बताए ।
‘हामी कस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा पर्याैँ भन्न पनि अप्ठेरो, अरु बुर्जुवालाई छोडेर त्यतै मिसियो, त्यत्ति गरेर जिताइयो, त्यत्ति गरेर थामियो । आफैँले समर्थन गरेको आफैँले चुनावमा जिताएको त्यो सरकारलाई फाल्नु पर्यो’, ओलीमाथि कटाक्ष गर्दै केसीले भने, ‘तपाईंको तिघ्रामा पिप जम्मा भयो भने निचोरेर फाल्नु पनि पर्यो । एमाले भित्रका केही साथीहरुले संघर्षको झन्डा उठाउनु भयो । त्यसले आज संविधान बचाउने काम भयो ।’
केसीले ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्ष गर्नु परेको बताए । अदालतको फैसलाले संविधानको रक्षा गरेको उनको भनाइ छ ।
संविधान मिलेर बनाएको भए पनि अहिले न्यायपालिकाबाट प्रधानमन्त्री बनाउने व्यवस्था कहाँबाट आयो भन्दै प्रश्न गर्नु गलत भएको उनको भनाइ छ । ‘अहिले आएर उहाँहरु न्यायपालिकाबाट प्रधानमन्त्री बनाउने व्यवस्था कहाँबाट आयो भन्दै हुनुहुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘त्यो संविधान बनाउने बेला त उहाँ पनि हुनुहुन्थ्यो । हामीले मिलेर बनाएको होइन ?’
अध्यक्ष केसीले ढोंगी भएकाले कम्युनिस्ट आन्दोलन संकटमा परेको बताए । कम्युनिस्ट हुँ भन्ने तर सम्पत्ति जोड्ने, नातागोता च्याप्ने र प्रतिक्रियावादी सिद्धान्त बोकेकाले कम्युनिस्ट बिग्रिएको उनको भनाइ छ ।
‘व्यक्तिगत सम्पत्ति जोड्ने, नातागोतालाई च्याप्ने, प्रतिक्रियावादीका दर्शन र सिद्धान्त बोक्ने अनि आफूलाई कम्युनिस्ट पनि भनिरहने प्रवृत्तिले संकट निम्त्यायो,’ केसीले भने ।