काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनता जहिल्यै भ्रष्टाचारको सिकार बनेको र प्रताडित भइरहेको बताएकी छन् । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताएकी हुन् ।
नेतृ शाक्यले सिर्जनशील युवालाई किन बाँदर बनाएर सडकमा ल्याएको भन्दै प्रश्नसमेत गरेकी छन् । उनले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताएकी छन् ।
‘जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ?’, ओलीमाथि प्रश्न गर्दै भनिन्, ‘यसले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ ।’
नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन् । पटक–पटक दलका सरकार आए पनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको उनको भनाइ छ । नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताइन् ।
‘लोकतान्त्रिक शक्ति नेतृत्वमा आइरहेको बेलामा जनता जहिल्यै पनि भ्रष्टाचारको सिकार बन्ने प्रताडित मात्र भएका छैनन् भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन’, उनले भनिन्, ‘यो विषय बनाउने कि नबनाउने, सुशासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ ।’
नेतृ शाक्यले अब कम्युनिस्ट पार्टी भित्र यी तमाम विषयमा छलफल हुनुपर्ने बताइन् ।