काठमाडौं । पार्टीको आधिकारिता विवादमा निर्वाचन आयोगले टुङ्गो नलगाउँदै जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । महन्त पक्षले निर्वाचन आयोगको आदेशविरुद्ध जसपा ठकुर पक्षले शुक्रबार रिट दायर गरेको हो ।
ठाकुरका तर्फबाट महोत्तरीका प्रदीपकुमार पाठकले रिट दायर गरेका छन् । रिटमा निर्वाचन आयोगले जसपा दर्ता हुँदा बखतका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरेर पार्टीको आधिकारिकता दिने भन्दै उपस्थितिका लागि दिएको आदेश बदर गरिदिन माग गरिएको छ ।
निर्वाचन आयोगले दुई दलहरू एकीकरण भई गठन भएको जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल दर्ता गर्ने सम्बन्धमा आयोगमा मिति २०७७ असार १२ गतेका दिन प्रस्तावित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सनाखत भई जनता समाजवादी पार्टी, नेपाल नामक राजनीतिक दल २०७७ असार २४ मा दर्ता भएको देखिँदा प्रस्तुत दलको आधिकारिकता सम्बन्धी विवादपूर्ण गर्ने प्रयोजनका लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्य स्वयम् उपस्थित भई सनाखत गर्नुपर्ने देखिएकाले सनाखत गर्नका लागि दल एकीकरण हुँदाका बखत सनाखत गरेका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ का उपदफा (६) बमोजिम ११ गते सोमबार ११ बजे आ–आफ्नो परिचय खुल्ने नागरिकताको सक्कल प्रति वा मतदाता परिचयपत्रको सक्कल प्रति लिइ स्वयम् निर्वाचन आयोगमा उपस्थित हुनका लागि विहीबार दुवै पक्षलाई जानकारी गराउने निर्णय गरेको थियो ।