logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • ओलीविरुद्ध कम्युनिस्ट सभा- ‘महाराजाधिराज उवाच !’ 

    ओलीविरुद्ध कम्युनिस्ट सभा- ‘महाराजाधिराज उवाच !’ 

    2.5K
    Shares

    काठमाडौं  । शुक्रबार ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेता सहभागी सभामा नेकपा (एमाले) अध्यक्ष केपी ओलीको चर्को आलोचना भएको छ। ओलीको सबैभन्दा धेरै आलोचना एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गरे। ओलीलाई निम्ता नगरिएको सभामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत सहभागी थिएनन्। 

    नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामीबाटो विषयक प्रवचन कार्यक्रममा वरिष्ठ नेता नेपालले आममाफी दिने ओलीको घोषणालाई श्री ५ को संज्ञा दिए। ‘हिजो महामहिम श्री ५ वडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाललगायत माननीय सदस्यमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आम माफी दिइन्छ, अनि हामी गद्गद्भयौँ, महाराजाधिराज उवाच, हामी गद्गद् भयौँ, वाह् वाह् वाह्, महाराजधिराज खुशी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो, खुुसी हुनु पर्ने भयो’, केपी ओलीमाथि व्यङ्ग्य गर्दै नेता नेपालले भने, ‘यही हो कम्युनिस्ट पद्धति ? स्पष्टिकरण सोध्नु गल्ती थियो, मैले हतार गरेँ, गल्ती भयो भनिदिएको भए हाइट घट्थ्यो ?’

    Madav Kumar Nepal.jpg

    नेता नेपालले ३ साउनमा प्रतिनिधि सभा विघटन गर्ने अर्को षड्यन्त्र सफल पारेको भन्दै आफूसँग जोडिएर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई सलाम गरेका छन्।

    ‘केपी ओलीले सांसद विघटन गर्ने मेरो कदम ठिक थियो, म दूरदर्शी नेता हुँ, भन्न खोज्नुभयो, तर त्यसलाई हामीले जोगाएका छौँ, संविधानको रक्षा गरेका छौँ, स्वतन्त्र न्यायपालिकाको सम्मान र जायज काम गरेका छौँ’, उनले थपे, ‘मसँग जोडिएर देउवालाई मत दिने २२ जना सांसदलाई पनि सलाम गर्न चाहन्छु।’ कार्यक्रममा माधव नेपालसँगै नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला, नेकपा (एमाले) नेतृ अष्टलक्ष्मी शाक्यलगायतले सम्बोधन गरे। 

    ओली अहमवादी : वैद्य

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी) का महासचिव मोहन वैद्य ‘किरण’ ले पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र केपी ओलीलाई तुलना गरेका छन्।  पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड र नेपाललाई ‘उदार’ र ओली ‘परम अहमवादी’ भएको बताएका हुन्।

    Mohan baidhya.jpg

    ‘माधव कमरेड अलि उदार हुनुहुन्छ। कम्युनिस्ट नै लाग्छ। प्रचण्डजी पनि अलि उदार हुनुहुन्छ, राम्रै लाग्छ’, उनले भने, ‘तर ओलीजी त अहमब्रह्मात्मी, म भन्दाबाहेक अरू कोही छैन भन्ने उहाँको विचार छ।’ नेताहरूमा व्यक्तिगत ‘इगो’ हुँदा पार्टी फुट्ने भएकाले नेकपा फुट्नुमा पनि त्यही कारक तत्व रहेको वैद्यले बताए। प्रचण्ड, ओली र नेपालमा ‘इगो’ भएकैले नेकपा फुटेको उनले बताए। 

    उनले धेरै कम्युनिस्ट पार्टीहरू भएको र विभिन्न विचारधारमा विश्वास गर्ने भएकाले धार मिल्नेजति  एक भएर जानुपर्ने बताए। ‘एकखाले कम्युस्टिहरू संसद्वादी हुनुहुन्छ, उहाँहरू नफुट्नुहोस् एक हुनुहोस्’, उनले भने, ‘क्रान्तिकारी धारहरूले पनि एकता गरौँला।’

    उनले मुलुकमा दुई धारका कम्युनिस्टको दुई वटा कम्युनिस्ट पार्टी बनाउने प्रस्ताव गरे। संसदीय कम्युनिस्टले सदन र सत्ताबाट आन्दोलन गर्नुपर्ने र सडकमा भएकाले क्रान्तिकारी आन्दोलन गर्नपर्ने उनले बताए।

    ‘तर सडकमा भएकाले आन्दोलन गर्दा सत्तामा भएका कम्युनिस्टले दमन नगर्नुहोस्’, उनले भने।

    तिघ्राको पिप निचोरेर फालियो : चित्रबहादुर 

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पूर्वप्रधानमन्त्री केपी ओलीलाई तिघ्राको पिपको संज्ञा दिएका छन्। ओलीलाई समर्थन गर्दा पनि राम्रो काम नगरेको भन्दै उनले कटाक्ष गरेका हुन्। 

    Chitra bahadur KC.jpg

    केसीले अरु बुर्जुवालाई छोडेर त्यतै लागेको तर अहिले त्यसैलाई फाल्नु परेको बताए।  कार्यक्रममा केसीले तिघ्रामा पिप जम्मा भएपछि फाल्नुपर्ने भन्दै ओलीमाथि कटाक्ष गरेका हुन्। नेकपा (एमाले)कै केही नेताले साथ दिएकाले ओलीलाई फाल्न सकिएको उनले स्वीकार गरे। यसले संविधान र अझै १८ महिनाका लागि प्रतिनिधिसभा जोगिएको बताए। 

    ‘हामी कस्तो कम्युनिस्ट पार्टीको नेतृत्वमा पर्यौँ भन्न पनि अप्ठेरो, अरु बुर्जुवालाई छोडेर त्यतै मिसियो, त्यत्ति गरेर जिताइयो, त्यत्ति गरेर थामियो। आफैँले समर्थन गरेको आफैँले चुनावमा जिताएको त्यो सरकारलाई फाल्नु पर्‍यो’, ओलीमाथि कटाक्ष गर्दै केसीले भने, ‘तपाईंको तिघ्रामा पिप जम्मा भयो भने निचोरेर फाल्नु पनि पर्‍यो। एमाले भित्रका केही साथीहरुले संघर्षको झन्डा उठाउनु भयो। त्यसले आज संविधान बचाउने काम भयो।’

    केसीले ओली सरकारले संविधान नै च्यात्न खोजपछि संघर्ष गर्नु परेको बताए। अदालतको फैसलाले संविधानको रक्षा गरेको उनको भनाइ छ। 

    संविधान मिलेर बनाएको भए पनि अहिले न्यायपालिकाबाट प्रधानमन्त्री बनाउने व्यवस्था कहाँबाट आयो भन्दै प्रश्न गर्नु गलत भएको उनको भनाइ छ। ‘अहिले आएर उहाँहरु  न्यायपालिकाबाट प्रधानमन्त्री बनाउने व्यवस्था कहाँबाट आयो भन्दै हुनुहुन्छ ?’, प्रश्न गर्दै उनले भने, ‘त्यो संविधान बनाउने बेला त उहाँ पनि हुनुहुन्थ्यो। हामीले मिलेर बनाएको होइन ?’

    अध्यक्ष केसीले ढोंगी भएकाले कम्युनिस्ट आन्दोलन संकटमा परेको बताए। कम्युनिस्ट हुँ भन्ने तर सम्पत्ति जोड्ने, नातागोता च्याप्ने र प्रतिक्रियावादी सिद्धान्त बोकेकाले कम्युनिस्ट बिग्रिएको उनको भनाइ छ।

    ‘व्यक्तिगत सम्पत्ति जोड्ने, नातागोतालाई च्याप्ने, प्रतिक्रियावादीका दर्शन र सिद्धान्त बोक्ने अनि आफूलाई कम्युनिस्ट पनि भनिरहने प्रवृत्तिले संकट निम्त्यायो,’ केसीले भने। 

    युवालाई किन बाँदर बनाएर ल्याएको ?

    नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले लोकतान्त्रिक शक्तिहरु नेतृत्वमा आइरहेको बेलामा जनता जहिल्यै भ्रष्टाचारको सिकार बनेको र प्रताडित भइरहेको बताएकी छन्। प्रवचन कार्यक्रममा नेतृ शाक्यले यस्तो बताएकी हुन्। 

    ashtalaxmi.JPG

    नेतृ शाक्यले सिर्जनशील युवालाई किन बाँदर बनाएर सडकमा ल्याएको भन्दै प्रश्नसमेत गरेकी छन्। उनले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको समेत बताएकी छन्। 

    ‘जनताको सुरक्षा र हकहितका विषयमा छलफल गर्नुपर्छ, सिर्जनशील युवाहरुलाई बाँदर बनाएर सडकमा किन ल्याउनुभएको हो ?’, ओलीमाथि प्रश्न गर्दै भनिन्, ‘यसले कम्युनिस्ट आन्दोलनमा अराजक शैलीको विकास भइरहेको छ।’

    नेतृ शाक्यले लोकतान्त्रिक शक्ति सत्तामा आउँदाको यो बेलामा भ्रष्टाचारले देशलाई डुबाइसकेको बताइन्। पटक–पटक दलका सरकार आए पनि कहिल्यै भ्रष्टाचारको बारेमा छलफल नभएको उनको भनाइ छ। नेतृ शाक्यले यी कुराहरुमा छलफल गरेर जनताका समस्या समाधान गर्नुपर्ने र नेपाली जनताको सुरक्षा र हकहितका बारेमा छलफल गर्नुपर्ने बताइन्।

    ‘लोकतान्त्रिक शक्ति नेतृत्वमा आइरहेको बेलामा जनता जहिल्यै पनि भ्रष्टाचारको सिकार बन्ने प्रताडित मात्र भएका छैनन् भ्रष्टाचारले देशलाई डुबाइसकेको छ, पटकपटक सरकार फेरिए तर कहिल्यै भ्रष्टाचारको विषयमा छलफल भएन, त्यसलाई कसरी निर्मूल गर्ने भन्ने बारेमा छलफल भएन’, उनले भनिन्, ‘यो विषय बनाउने कि नबनाउने, सुशासन कायम गर्ने कि नगर्ने ? जनतालाई सेवा दिने कि नदिने ? यी बारेमा पनि गम्भीर विषय बनाएर छलफल हुनुपर्छ।’ 

    नेतृ शाक्यले अब कम्युनिस्ट पार्टी भित्र यी तमाम विषयमा छलफल हुनुपर्ने बताइन्।

    ‘राजनीति संकट कम्युनिस्टको संकट हो’

    नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिस्ट आन्दोलनको संकट भएको बताएका छन्। 

    Dharmendra Bastola.jpg

    कार्यक्रममा नेता बास्तोलाले कम्युनिस्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट परेको बताए। 

    नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको संकट कम्युनिस्टको संकट भएको समेत बताए। साथै नेता बास्तोलाले सामन्तवर्गको हातमा रहेको सरकार अहिले दलाल र पुँजीपतिको हातमा रहेको बताए। 

    ‘नेपालको राजनीतिमा देखापरिहेको संकट वास्तवमा कम्युनिस्टको संकट हो, कम्युनिस्ट आन्दोलनमा देखा परेको संकटको कारणले नेपाली राजनीतिमा संकट देखापरेको छ।

    नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पूँजीपतिको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पूँजीपति वर्गको हातमा छ।’

    नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताए।

    तस्बिर : रमेशकुमार परियार 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend