काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चार पाँच दिनदेखि मानसिक तनावमा रहेको बताएका छन् ।
नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले चार पाँच दिनदेखि मानसिक तनावमा रहेको बताएका हुन् । उनले आफूकहाँ मन्त्री बनाइदिन दबाब दिँदै धेरै नेता पुग्ने गरेका भन्दै यसले आफू तनावमा परेको सुनाए ।
‘मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुल अहिले म कहाँ आउने गरेको छ । आतंक छ मेरो दिमागमा कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने ?’, प्रचण्डले भने, ‘हाम्रो ४९ सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पायौं भने बढीमा सात पाउँछौं ।’
सबैलाई मन्त्री बनाउन मन लागेपनि त्यो सम्भव नभएकाले आफू तनावमा परेको उनको भनाइ छ ।
पछिल्लो समय मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने प्रवृत्ति बढेको भन्दै उनले यो परिपाटी बदल्नुपर्नेमा जोड दिए । उनले भने, ‘आदर्शमा जे भने पनि व्यवहारमा लागु नभएको भन्दै यो परिपाटी बदल्नुपर्नेमा उनले जोड दिए ।’