जनकपुरधाम / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धनुषा जिल्ला अधिवेशन चलिरहेकै दिन जिल्ला सभापति लक्ष्मेश्वर यादव निलम्बनमा परेका छन् । रास्वपाको केन्द्रीय अनुशासन आयोगले यादवलाई पदबाट निलम्बन गर्दै अन्तरकालीन आदेश जारी गरेको हो ।
आयोगले जेठ २५ गते जारी गरेको निर्णयमा यादवमाथि पार्टीको विधान, आचारसंहिता तथा निर्वाचनसम्बन्धी व्यवस्थाविपरीत गतिविधि गरेको आरोप लगाएको छ । साथै, पदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको, अधिकार क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको तथा समूहगत राजनीतिलाई प्रश्रय दिएको आरोपसमेत उल्लेख गरिएको छ ।
आयोगका अनुसार विभिन्न तहबाट प्राप्त उजुरीका आधारमा यादवसँग स्पष्टीकरण माग गरिएको थियो । प्राप्त जवाफको अध्ययनपछि थप अनुसन्धान आवश्यक देखिएकाले अनुसन्धान प्रक्रिया सम्पन्न नहुँदासम्म उनलाई जिल्ला सभापतिको जिम्मेवारीबाट अलग गरिएको हो ।
रास्वपाका केन्द्रीय अनुशासन आयोगका कार्यवहाक प्रमुख रमाकान्त रिमालेले जारी गरेको आदेशअनुसार अर्को निर्णय नआएसम्म यादवले जिल्ला सभापतिको हैसियतमा कुनै पनि आधिकारिक काम गर्न, पार्टी बैठकमा सहभागी हुन वा पार्टीका गतिविधिमा संलग्न हुन पाउने छैनन् । अनुशासन आयोगले उक्त निर्णयको जानकारी पार्टीको केन्द्रीय कार्यसमिति, केन्द्रीय संगठन विभाग, मधेश प्रदेश कार्यसमिति, प्रदेश अनुशासन आयोग तथा धनुषा जिल्ला अनुशासन आयोगलाई समेत पठाएको जनाएको छ ।
रास्वपाको धनुषा जिल्ला अधिवेशन भने आजदेखि जनकपुरधामस्थित निधि भवनमा सुरु भइरहेको छ । अधिवेशन चलिरहेका बेला जिल्ला नेतृत्वमाथि भएको कारबाहीले जिल्लाको पार्टी राजनीतिमा नयाँ चर्चा सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस