काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन सर्त राखेको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखलाई टेलिफोनमार्फत आफूहरुले अवैध भनेको दल नेकपा एसको सहभागितामा हुने बैठकमा भाग नलिने जानकारी दिएका छन् ।
सभामुखसँग भट्टराईले कुन कुन दललाई सर्वदलीय बैठकमा बोलाइएको छ ? भन्ने जिज्ञासा राखेका थिए । जवाफमा नेकपा एस पनि रहेको जानकारी पाएपछि विधिसम्मत तरिकाले दर्ता नभएको र आफूहरूले गैरसांसद भनेकाहरू सहभागी बैठकमा आउन नसक्ने बताएका थिए । भट्टराईले त्यसअघि सिंहदरबारमा भेटौं भन्दा सभामुखले आफू आज सिंहदरबार नआउने बताएका थिए ।
एमालेले सभामुखलाई १४ सांसदलाई पदमुक्त गरिएको सूचना टाँस गर्न भन्दै त्यसो भए बैठकमा आउने जानकारी दिएको छ । तर, सभामुखले निर्वाचन आयोगबाट दलको मान्यता पाइसकेको भन्दै सूचना टाँस गर्न नसकिने जवाफ दिएको स्रोतले जनाएको छ ।
जवाफमा एमालेले भनेको छ, ‘तपाईको गैरकानूनी कार्य र पदमुक्तको सुचना नटाँसेका कारण आयोगबाट नेकपा एसले मान्यता पाएको हो । त्यसैले कि तपाई सूचना टाँस्नुस् कि मार्ग प्रशस्त गर्नुस् ।’ एमालेले मार्ग प्रशस्त गर्नु भन्नुको अर्थ सभामुखको राजीनामा मालेको समेत स्रोतले जनाएको छ ।