काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा नेकपा विप्लव समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।
काठमाडौंमा सोमबार भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायत शीर्ष नेताहरु सहभागी भएका छन् ।
सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि अमेरिकाले भण्डै ६० अर्ब रुपैयाँ अनुदान दिन नेपाल सरकारसँग सन् २०१७ मा एमसीसी सम्झौता गरेको थियो । उक्त सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै विभिन्न राजनीतिक दल र समूहले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।
एमसीसी सम्झौता छिटो कार्यन्वयन गराउन एमसीसीकी उपाध्यक्ष फातिमा जे सुमार लगायत प्रतिनिधि मण्डलले भर्खर मात्र नेपालको चार दिने भ्रमण गरेको थियो । सुमार आइतबार साँझमात्र स्वदेश फर्किएकी छन् ।
नेपालमा सुमारसहितको प्रतिनिजधि मण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।
तस्बिर : रमेश कुमार परियार