logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • जग्गाको रोक्का फुक्का अब अनलाइनबाटै, बैंक वित्तीय संस्थाका कर्मचारी मालपोत धाउनु नपर्ने   

    जग्गाको रोक्का फुक्का अब अनलाइनबाटै, बैंक वित्तीय संस्थाका कर्मचारी मालपोत धाउनु नपर्ने   

    5.3K
    Shares

    काठमाडौं । जग्गाको रोक्का तथा फुक्काको लागि मालपोत कार्यालय धाउन नपर्ने भएको छ ।

    अनलाइनबाट जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणाली विकास भएर कार्यान्वयनमा आउन लागेकोले यस्तो समस्या समाधान हुने देखिएको हो ।

    भूमि व्यवस्थापन तथा अभिलेख विभागले आगामी सातादेखि अनलाइन मार्फत जग्गाको रोक्का तथा फुक्का हुने व्यवस्था कार्यान्वयन गर्ने भएको छ । यसको लागि कर्मचारीलाई आवश्यक तालिमदेखि सबै पूर्वाधार तयार भइसकेको विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

    ‘अनलाइनबाटै जग्गाको रोक्का तथा फुक्का गर्न मिल्ने प्रणालीको विकास भइसकेको छ, केही दिनअघि हामीले हाम्रा कर्मचारीलाई तालिम पनि दिइसकेका छौं, अबको सातदेखि १० दिनभित्रमा अनलाइनबाटै जग्गा रोक्का राख्ने र फुक्का गर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउने गरी आन्तरिक तयारी गरिरहेका छौं,’ प्रवक्ता भण्डारीले भने ।

    उनले पहिलो चरणमा कर्मचारी संचयकोषले आफ्ना संचयकर्तालाई सापटी दिदा रोक्का राखेको जग्गा फुक्का वा सापटी दिनको लागि जग्गा रोक्का राख्ने कार्य अनलाइन मार्फत गर्ने तयारी भएको जानकारी दिए ।

    संचयकोषपछि विभागले यसको कार्यान्वयन नागरिक लगानी कोष र त्यसपछि बैंक तथा वित्तीय संस्था हुँदै सहकारी संस्थाहरुको लागि पनि कार्यान्वयन गर्नेछ । पहिलो चरणमा काठमाडौं उपत्यकाभित्र यस्तो सेवा संचालन गर्ने र त्यसपछि क्रमैसँग देशभर सेवा विस्तार गर्ने योजना विभागको छ ।

    अहिले जग्गा रोक्का तथा फुक्का गर्नको लागि सम्बन्धित संस्थाका कर्मचारीहरु मालपोत कार्यालय नै जानुपर्ने वाध्यता छ । यस्तो वाध्यताको कारण बैंक तथा वित्तीय संस्थाहरुलाई समस्या भएको, मालपोतमा बढी भिड देखिएको तथा समयमै काम सम्पन्न गर्न समस्या हुने गरेको जस्ता समस्या समाधान गर्न अनलाइन मार्फत नै जग्गा रोक्का तथा फुक्का गर्ने व्यवस्था मिलाउन लागिएको हो ।

    ‘मालपोतहरुमा हुने भीड कम गर्न र मालपोत कार्यालयहरुलाई प्रविधिमैत्री बनाएर ‘फेसलेस’ वा ‘पेपरलेस’ गर्न हामीले यस्तो सेवा संचालन गर्न लागेका हौं,’ विभागका प्रवक्ता भण्डारीले थपे । मालपोत कार्यालयहरुले अहिले अनलाइन मार्फत नै जग्गा खरिद विक्रीको सुरुआत गरिसकेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend