logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    चितवन माओवादीको प्रभाव क्षेत्र हो भन्नु भ्रम मात्र होः  प्रदीप ज्ञवाली 

    चितवन माओवादीको प्रभाव क्षेत्र हो भन्नु भ्रम मात्र होः  प्रदीप ज्ञवाली 

    5K
    Shares

    काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली बौद्धिक र शालीन नेताका रुपमा परिचित छन्। चितवनमा हुन लागेको पार्टीको १० औं महाधिवेशनका एजेन्डा  र आगामी पार्टीको नयाँ नेतृत्वले लिनुपर्ने कार्यदिशाबारे एमाले सचिव ज्ञवालीसँग गरेको कुराकानीः 

    एमालेको आसन्न १० औं महाधिवेशन यसअघिका महाधिवेशनहरूभन्दा के कारणले विशिष्ट र महत्वपूर्ण छ ?

    यसमा धेरै पक्षहरू छन् । पहिलो कुरा भनेको यो महाधिवेशन त्यस्तो समयमा हुन लागेको छ, जहाँ राष्ट्रिय राजनीतिमा नेकपा एमालेविरुद्ध मोर्चाबन्दी खडा गरिएको छ । संविधानको अपव्याख्या अनि अदालतमा सेटिङका साथै असैद्धान्तिक र अवसरवादी गठबन्धनको माध्यमबाट पार्टीलाई विभाजन गरिएको अवस्था छ । यो चुनौतीको सामना गर्न यस महाधिवेशनले चयन गर्ने नेतृत्वको भूमिका निकै महत्वपूर्ण रहन्छ ।

    दोस्रो कुरा भनेको वैचारिक रूपले एकता कायम भएपछि र पार्टीभित्र नीति, विधि र विचारमा विधान अधिवेशनमार्फत् एउटा सर्वसम्मत अवधारण निर्माण भएपछि यो महाधिवेशन हुन लागेको हो । हिजो नेतृत्व र नीति अलग–अलग हुँदा महाधिवेशनले पारित गरेका नीतिहरु कार्यान्वयन गर्ने बेलामा नेतृत्व गलत व्यक्तिको हातमा पर्ने अवस्था थियो ।

    मुलुकको सबैभन्दा ठूलो पार्टी हुनुको नाताले महाधिवेशनपछि नेकपा एमाले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण र समृद्धिको यात्रामा भइरहेको अवरोध चिर्दै नयाँ ढंगले राष्ट्रिय राजनीतिमा सशक्त रुपमा प्रस्तुत हुनेछ । यिनै कारणले गर्दा म एमालेको यो १० औं महाधिवेशन यसअघिका महाधिवेशनभन्दा महत्वपूर्ण रहेको ठान्दछु ।

    यो महाधिवेशनले आमनागरिकमा प्रवाह गर्न खोजेको सन्देश चाहिँ के हो ?

    पछिल्लो समय देशमा देखिएको राजनीतिक अस्थिरताका कारण राष्ट्रिय हितमा कतै आघात पुग्छ कि भन्ने विषयमा नागरिकहरुमा जुन चिन्ता छाएको छ, त्यसलाई चिर्दैै महाधिवेशनमा देखिने उच्चस्तरको एकताले देशको राजनीति सुरक्षित छ,  राष्ट्रको हित सुरक्षा गर्ने बलियो शक्ति देशमा छ र देशको लोकतन्त्र कहीँ–कतैबाट पनि तलमाथि हुन पाउँदैन भन्ने सन्देश यो महाधिवेशनले दिनेछ ।

     अहिले नेकपा एमालेभित्र पार्टीलाई नेकपाको निरन्तरता ठान्ने पूर्वमाओवादी र माधव नेपाललाई खुलेर साथ दिएर पछि एमालेमै फर्किएका नेताहरु पनि क्रियाशील छन् । यस्तो अवस्थामा एमालेले नेतृत्वमा आउन चाहने सबै नेताहरुको आकांक्षालाई कसरी सम्बोधन गर्छ ?

    नेकपा एमालेभित्र अहिले तीनवटा मनोविज्ञानलाई एकताबद्ध गर्दै अगाडि लैजानुपर्ने स्थिति छ । सुरुदेखिनै पार्टीको संस्थापनमा रहेर काम गरिरहेको एउटा मनोविज्ञान छ । अर्को माओवादी केन्द्रबाट नेकपा एमालेमा जोडिनुभएको कमरेडहरुको पंक्ति छ र त्यसले निर्माण गरेका एउटा मनोविज्ञान छ । र, दसबुँदे प्रस्तावपछि मूलधारमा फर्किएका साथीहरुको अर्को पंक्ति छ । नेतृत्व निर्माणमा यी तीनवटै मनोविज्ञानलाई ध्यानमा राखिनेछ । तर, सबैको सबै आकांक्षालाई सम्बोधन गर्न भने सम्भव हुँदैन किनकि पार्टीमा योग्य नेताहरुको ठूलो पंक्ति छ । तसर्थ,  पार्टीमा योग्यबाट सुयोग्य र उत्कृष्टबाट सर्वोत्कृष्ट साथीहरुको टिम बन्नेछ । यसो गर्दा यी तीनवटै मनोविज्ञान एक भएको तपाईंहरुले पाउनुहुनेछ ।

    नेकपा एमाले सबै मनोविज्ञानलाई एकत्रित गरेर अन्तर्घुलित भइ अघि बढ्नेछ । नेतृत्व र नीति दुवैमा यी तीनवटै मनोविज्ञानलाई समेट्ने काम हामीले गरेका छौँ । 

    यसअघिका महाधिवेशनमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुँदै आएका थियो, यसपालि चाहिँ के हुन्छ ?

    हामीले विधान महाअधिवेशनबाटै पार्टीमा कुनै पनि आन्तरिक प्रतिस्पर्धामा प्यानल बनाउन निषेध गरेका छौँ । प्यानलले पार्टीभित्र स्थायी गुटबन्दी, मनोवैज्ञानिक विभाजन र त्यसले संगठनात्मक विभाजनको आधार तय गर्ने कुरा हाम्रो विगतको अनुभवले देखाइसकेको छ । 

    पार्टीभित्रको बहस भनेको  वाद, प्रतिवाद र संवादको माध्यमबाट समाधान हुने विषय हो । यसमा संसदको जस्तो पक्ष र प्रतिपक्ष भन्ने हुँदैन । त्यसैले नेताहरुबीच व्यक्तिगत प्रतिस्पर्धा हुनसक्छ भनेर हामीले प्यानललाई बन्देज लगाएका छौँ ।

    तपाईंले चाहिँ कुन पदमा उमेदवारी दिने सोच बनाउनुभएको छ ?

    यो विषयमा हामी छलफलमै छौँ । यस बेला पार्टीभित्र उच्चस्तरको समझदारी खाँचो छ । छलफल र परामर्शपछि मात्र मैले मेरो उम्मेदवारीबारे सार्वजनिक गर्नेछु ।

    सुरुमा एमालेको १० औं महाधिवेशन बुटवलमा गर्ने निर्णय भएको थियो, पछि फेरि एकाएक महाधिवेशन चितवनमै आयोजना गरियो । माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष प्रचण्डलाई शक्ति देखाउन एमालेले स्थान परिवर्तन गरेको भन्ने चर्चा छ, वास्तविकता के हो ?

    यो बिल्कुलै होइन  । एकजनाले कुनै क्षेत्रबाट एकपटक चुनाव जित्दैमा इलाका नै उसको भन्ने हुँदैन ।  जनमत भनेको निरन्तर परिवर्तन भइरहन्छ । माओवादीले स्थानीय तहको चुनावमा महानगर जितेको कांग्रेसको सहायताले हो, अझ भनौ मतपत्र च्यातेर हो । त्यस्तै, प्रचण्डले चुनाव जितेको एमालेसँगको सहकार्यमा हो । त्यसैले चितवन माओवादीको प्रभाव क्षेत्र हो भन्नु भ्रम मात्र हो । 

    पार्टी अझ विस्तार हुँदै जाओस् भन्नका निम्ति हामीले हाम्रा महाधिवेशनहरू प्रायः देशका अलग–अलग ठाउँमा गर्ने गरेका छौँ । विगतमा चितवनमा हाम्रो पार्टीको महाधिवेशन नभएको हुनाले यसपटक हामीले चितवनलाई रोजेका हौँ । त्यसमाथि चितवन मुलुककै मध्यभागमा पर्ने भएकाले विशेष अर्थ राख्दछ । साथै, कम्युनिस्ट आन्दोलनको लामो इतिहास बोकेको थलो भएकाले पनि हामीले चितवन रोजेका हौँ । 

    दोस्रो विषय भनेको चितवन नेपालको एउटा महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । तर, केही समयदेखि कोरोना र लकडाउनका कारण यहाँको साथै देशभरका पर्यटकीय गतिविधि सुस्ताएका छन् । हामीले चितवनमा महाधिवेशन आयोजना गरेर अब नेपाल घुम्नको लागि सुरक्षित छ भन्ने सन्देश विश्वमाझ दिन खोजेका हौँ । 

    साथै हामीले महाधिवेशनको लोगोमा प्रयोग गरेको एकसिंगे गैंडामार्फत् नेकपा एमाले प्राकृतिक सम्पदा र संस्कृतिको संरक्षणमा प्रतिबद्ध छ भन्ने संकेत दिन खोजेका छौँ । 

    अन्त्यमा, महाधिवेशनबाट चुनिएर आउने एमाले नेतृत्वसामु आगामी दिनमा के–कस्ता चुनौती छन् रु पार्टीलाई नयाँ दिशामा लैजान नेतृत्वले के–कस्ता कदम चाल्नुपर्ला ?

    हामीले चारवटा क्षेत्रमा हामीले ध्यान दिएका छौँ, जसमा हामी महाधिवेशनपछि केन्द्रित हुनेछौँ । पहिलो भनेको पार्टीको थप सुदृढीकरण हो । यसलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ । अवसरवाद र संगठनात्मक अराजकतालाई चिर्दै पार्टीलाई सुदृढ बनाउने काम गर्नेछौं । 

    दोस्रो भनेको एमालेलाई विभिन्न सेटिङमार्फत् सरकारबाट विस्थापित गर्नुको साथै पार्टी विभाजन गर्न जेजस्ता गतिविधिहरु भए र जुन खालका अवसवादीहरु सलबलाए, ती सबैको सामना गर्दै मुलुकलाई सही दिशानिर्देश गर्दै राष्ट्रियताको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा पार्टी एकीकृत भएर लाग्ने छ । 

    तेस्रो भनेको अबको एक वर्षभित्र तीनै तहको निर्वाचन हुँदैछ । ती निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्ति बनाउन हाम्रो अभियान अघि बढ्नेछ ।

    चोथो चाहिँ नेकपा एमालेको सरकार बनेपछि मुलुकमा आर्थिक विकासको काम अघि बढ्नुको साथै समृद्धिको अभियानले गति समातेको थियो, त्यो अहिले रोकिएको छ । हामी त्यसलाई निरन्तरता दिनेछौँ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend