logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  •  प्रदेश १ मा सिरिन्ज अभाव, खोप प्रभावित हुनसक्ने खतरा

     प्रदेश १ मा सिरिन्ज अभाव, खोप प्रभावित हुनसक्ने खतरा

    2.3K
    Shares

    विराटनगर । प्रदेश १ मा कोभिड–१९ विरुद्धको खोप प्रभावित हुने भएको छ ।  खोपका लागि प्रयोग हुने सिरिन्जको चरम अभाव भए पछि खोप प्रभावित हुने भएको हो । 

    सिरिन्ज अभाव हुँदा कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित हुने सम्भावना बढेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा मौज्दात सिरिन्ज सकिन लागेको जनाइएको छ । केन्द्रदेखि थप सिरिन्ज नआए कोभिडविरुद्धको खोप कार्यक्रम प्रदेश १ मा प्रभावित हुनसक्ने खतरा बढेको हो । २८ मङ्सिरमा प्रदेशका लागि ३ लाख ७७ हजार  ८ सय ५० डोज भेरोसेल खोप आएको थियो ।

    सो सङ्ख्यामा आएको खोपका लागि सोही बराबरको सिरिन्ज आवश्यक पर्दछ । तर, केन्द्रदेखि अहिलेसम्म भेरोसेल खोपको लागि सिरिन्ज नआएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका निमित्त कार्यालय प्रमुख शम्भु साहले जानकारी दिए । अहिले आपूर्ति केन्द्रमा मौज्दात ६० हजारको सङ्ख्यामा मात्र सिरिन्ज रहेको उनले बताए ।

    ३ लाख १७ हजार ८ सय ५० खोपका लागि सोही सङ्ख्यामा सिरिन्ज आवश्यक पर्ने निमित्त कार्यालय प्रमुख साहले बताए । एक सातामा केन्द्रदेखि सिरिन्ज नआए कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित हुने बताइन्छ । मौज्दात सिरिन्ज ३–४ वटा जिल्लामा वितरण गर्दा सकिन्छ । केन्द्रमा सिरिन्ज अभाव भएको कारणले प्रदेशमा नआएको साहले बताए ।

    सिरिन्ज अभाव हुँदा हाल ३ लाख १७ हजार ८ सय ५० डोज भेरोसेल खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा थन्किएको छ । सिरिन्ज अभाव भएको कारणले ठूलो सङ्ख्यामा आएको भेरोसेल खोप समयमै लगाउनबाट प्रदेशका नागरिक बञ्चित भएका छन् । प्रदेशमा आएको खोप मोडर्ना खोपका लागि पर्याप्त सिरिन्ज भए पनि भेरोसेल खोपको लागि सिरिन्ज अभाव देखिएको हो ।

    ‘भेरोसेल खोपको लागि पर्याप्त मात्रामा सिरिन्ज मौज्दात छैन । अहिले ६० हजार सिरिन्जमात्र मौज्दात छ । हामीलाई ३ लाख बढी सिरिन्ज आवश्यक पर्दछ’ उनले भने, ‘केही दिनमा केन्द्रबाट सिरिन्ज पठाउने हामीलाई मौखिक जानकारी आएको छ ।’

    प्रदेशमा ३२ लाखले लगाए खोप
    १४ जिल्ला रहेको प्रदेश १ मा पुस ४ गतेसम्म कोभिड–१९ विरुद्धको खोप ३२ लाख बढीले लगाएका छन् । पहिलो डोज खोप १७ लाख २९ हजार १ सय १९ जनाले लगाएका छन् ।

    यस्तै दुवै डोज खोप १४ लाख ८८ हजार ७ सय ५५ जनाले लगाएको जिल्ला स्वास्थ्य सूचना प्रणालीमा उल्लेख छ । कोभिशिल्ड पहिलो डोज खोप ३ लाख ५० हजार ४ सय ८५ जना र दोस्रो डोज खोप २ लाख ७३ हजार ९ सय ५ जनाले लगाएका छन् । यस्तै भेरोसेल पहिलो डोज १० लाख ७६ हजार २ सय ८१ जनाले लगाएका छन् ।

    भेरोसेल दोस्रो डोज खोप ७ लाख ५२ हजार ७ सय ७७ जनाले लगाएका छन् । यस्तै जोन्सन २ लाख ४५ हजार ४ सय ६५ जनाले लगाएका छन् । यस्तै अस्ट्राजेनेका पहिलो डोज २ लाख ९६ हजार ३ सय ८४ जनाले लगाएका छन् भने दोस्रो डोज खोप २ लाख १२ हजार ७ सय ९२ जनाले लगाएका छन् । यस्तै फाइजर पहिलो डोज ५ हजार ९ सय ६९ र दोस्रो डोज ३ हजार ८ सय १६ जनाले लगाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend