logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • २० वर्षमा निर्माण सम्पन्न भएको फाल्गुनन्द विमानस्थलमा नियमित उडान अनिस्चित 

    २० वर्षमा निर्माण सम्पन्न भएको फाल्गुनन्द विमानस्थलमा नियमित उडान अनिस्चित 

    5.7K
    Shares

    इलाम । इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पूरा भएको पाँच महिना बितिसक्यो । लामो समयको प्रतिक्षापछि निर्माण पूरा भए पनि उडान भने सुरु हुन सकेको छैन ।

    फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्षमा काम सकिएको छ । २०५८ मै विमानस्थल निर्माणको प्रक्रिया थालिएकोमा २०७८ मा निर्माण पूरा भएको हो । यति लामो समय पर्खिएर पूरा भएको विमानस्थलमा उडान नहुँदा स्थानीय भने निराश भएका छन् ।

    विमानस्थलमा गत वैशाखमै दोस्रो पटक परीक्षण उडान गरेर नियमित उडान गर्ने तयारी थियो । तर, हालसम्म उडान निश्चित भएको छैन । उडान सुरु भए इलामको पर्यटनको विकासमा पनि सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।

    होटल एसोसिएसनका अध्यक्ष देवी पौडेलले एयरलाइन्स कम्पनीलाई सेवा सुविधा दिएर भए पनि उडानको व्यवस्था मिलाउनुपर्ने बताएका छन् । इलाम पर्यटकीय क्षेत्र भएपनि लामो यात्रा गर्नुपर्ने कारण पर्यटकले इलाम आउन चाहना नगर्ने अवस्था विमानस्थल सञ्चालन भए अन्त्य हुने उनको भनाइ छ ।

    विमानस्थल सञ्चालन गर्न इलाम नगरपालिकाले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ताकेता गरिरहेको नगरप्रमुख महेश बस्नेतले बताए । मन्त्रालयले सेवा प्रदायकसँग कुरा गर्न भनेपछि एयरलाइन्स कम्पनीसँग पनि कुरा गरेको उनको भनाइ छ । नगरपालिकाले साझेदारी गरेर भएनि उडान सुचारु गर्ने तयारी गरिरहेको उनले बताए ।

    विमानस्थलको धावनमार्ग सँगै ट्याक्सी र हवाई पार्कीङसमेत कालोपत्रे भइसकेको छ । ८ करोड ४० लाखको लागतमा धावनमार्गको कालोपत्रे गरिएको हो । सुकिलुम्काको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर विमानस्थल बनाइएको छ । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ भएको विमानस्थलबाट थोरै यात्रु बोक्ने विमानले उडान भर्नसक्छ ।

    फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट हवाई सेवा सुरु भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका बासिन्दालाई हवाइ यात्राका लागि सहज हुने अपेक्षा गरिएको छ ।

    पछिल्लो समय  विमानस्थल सञ्चालनमा नआउँदा स्थानीय बासिन्दाको लागि घुमघाम गर्ने र सेल्फी लिने ठाउँ बनेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend