logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

    बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

    3.8K
    Shares

    म्याग्दी । म्याग्दी सदरमुकामस्थित बेनी अस्पतालमा आइसीयू (सघन उपचारकक्ष) सहितको बालबालिका उपचार कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार र उपकरण जुटाएर मङ्गलबारदेखि उक्त कक्ष सञ्चालनमा ल्याइएको हो ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले आइसीयूसहित आठ शय्या क्षमताको उक्त उपचार कक्षमा सेवा सुरु भएको जानकारी दिए । “यसअघि अन्य उमेर समूहकै बिरामीसँगै राखेर बालबालिकाको उपचार हुँदै आएको थियो ”, उनले भने । बालबालिकाको उपचारलाई प्रभावकारी र व्यवस्थित गर्न तथा हेरचाहमा सहजता लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो । यसअघि अस्पतालमा बालबालिकालाई न्यानो बनाउने ‘वार्मर कक्ष’ मात्र थियो । 

    बालबालिका वार्ड सञ्चालनका लागि गत आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको रु ३८ लाखमा भवन निर्माण गरिएको हो ।  भवन बनाउन रु ५६ लाख बजेट विनियोजन भएको थियो । आइसीयूका सामान खरिद र जडान गर्न रु दुई करोड ६१ लाख खर्च भएको छ ।

    विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै लगेको छ । अस्पतालले आकस्मिक, बहिरङ्ग, कोभिड, बालबालिकासहित ६४ शय्या बराबरको सेवा दिइरहेको प्रमुख चिकित्सक डा जितेन्द्र कँडेलले बताए । 

    यसअघि अस्पतालले इन्डोस्कोपी, सघन उपचारकक्ष, डायलाइसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन पलान्ट, आँखा उपचार, दाँत उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको थियो ।

    म्याग्दीका साथै पर्वत र बागलुङका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । निर्माणाधीन ५० शय्या क्षमताको भवनले पूर्णता नपाउँदा र दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु बेनी अस्पतालको चुनौती बनेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend