logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    च्याउ खेतीबाट मासिक २ लाख कमाउँछन् गुल्मीका २० वर्षीय निखिल

    च्याउ खेतीबाट मासिक २ लाख कमाउँछन् गुल्मीका २० वर्षीय निखिल

    2.4K
    Shares
    च्याउ खेतीबाट मासिक २ लाख कमाउँछन् गुल्मीका २० वर्षीय निखिल

     सन्तोष महतारा/रासस

    रेसुङ्गा । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ ।

    गुल्मीको चन्द्रकोट गाउँपालिका-३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए ।

    अहिले २० वर्ष पुगेका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लाग्नुभयो । दुई लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले ।

    उनले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गरेका छन् । दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गरेका उनले च्याउलाई ५० टनेलमा विस्तार गर्दैछन् ।

    आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ । वार्षिक एक लाख तिरेर जग्गा लिजमा लिएका निखिलले च्याउ खेतीमा २५ लाख लगानी गरेका छन् । उनले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताए ।

    निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढे । त्यतिखेर प्रयोगात्मक सिकाइको क्रममा उनी च्याउ खेती गर्नेमा बढी आकर्षित भए । कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित भए ।

    डेढ वर्षअघिबाट सुरु गरिएको च्याउ खेतीबाट अहिलेसम्म औसतमा मासिक दुई लाख आम्दानी भएको फार्म सञ्चालक निखिलको भनाइ छ । “च्याउ खेतीबाट निरन्तर आम्दानी हुँदैन, मौसम अनुसार उत्पादन भएकालाई बजार पुर्‍याउनुपर्छ’, उनी भन्छन्, ‘वर्षभरलाई औसतमा हेर्दा मासिक रु दुई लाख आम्दानी हुन्छ ।’ आम्दानी भएको रकम च्याउ खेतीमै लगानी भइरहेको छ । फार्मका २० टनेलमा अहिले सिताके र कन्या च्याउ छन् ।

    मौसममा दैनिक आठ क्विन्टल र अघिपछि दैनिक एक क्विन्टल च्याउ बुटवल बजारमा निर्यात हुन्छ । औसतमा तीन क्विन्टल दैनिक बिक्री हुने उनले बताए । च्याउ प्रतिकिलोग्राम एक सय ५० देखि दुई सयसम्म पर्छ ।

    छ जनालाई आवासीय रोजगार

    प्राविधिक ज्ञानमा आफैँ पोख्त बीस वर्षका निखिलले फार्ममा छ जनालाई आवासीय सेवा सुविधासहित रोजगार दिएका छन् । ‘आफ्नै ठाउँमा कामदार पाउन गाह्रो रहेछ, टाढाबाट लिएर आवासीय सुविधासहित राखेको छु,’ उनले भने ।

    प्युठानदेखि आएका उनीहरुले सुविधाबाहेक मासिक १५ हजार पाउँछन् । फार्मको हेरचाहदेखि च्याउका लागि कच्चापदार्थ तयार गर्नेलगायतका सबै काम गर्नुपर्छ । योबाहेक सिजनमा अन्य कामदार राख्नुपर्छ ।

    सानै उमेरमा व्यवसायतर्फ प्रेरित हुनुको कारण अध्ययन नै भएको निखिलले बताए । अठार वर्ष पुगेपछि च्याउ खेतीमा लागेपछि अहिले व्यावसायिकतातर्फ गइसकेका छन् ।

    आफूले प्राविधिकतर्फ कृषिमा अध्ययन गरेपछि कृषिबाटै व्यवसायमा उन्मुख हुन्छु भन्ने सोच राखेको उनले सुनाए । ‘पढ्ने समयमा प्रयोगात्मक गर्दा च्याउ खेती गर्छु भन्ने अठोट गरेको थिएँ’, उनी भन्छन्, ‘अब च्याउ खेतीलाई व्यापकरुपमा विस्तार गर्दै लैजाने हो ।’

    बुबा धनबहादुर, आमा रोशनी र दाजु कमल निखिलको कृषि व्यवसायबाट सन्तुष्ट छन् । कक्षा ९ देखि १२ सम्म प्राविधिकरुपमा कृषि पढाएकाले छिट्टै व्यवसायतर्फ प्रेरित भएकोमा बुबाआमा खुसी छन् ।

    लगानीसँगै निगरानी, व्यवस्थापन, इमानदारिता र सक्रियता भएमा मात्र कृषि र पशुपालनमा सफलता प्राप्त गर्न सकिने उनको भनाइ छ । ‘मलाई सुरुमा आफ्नैले विश्वास गर्नुभएन, तर म केही गरेर देखाउँछु भनेर अघि बढेँ’, उनी भन्छन्, ‘विश्वास त कर्मसँग हुनुपर्छ ।’आफूजस्ता हजारौँ युवा खाडीमुलुक गएकोप्रति चासो देखाउँदै निखिलले बाध्यताले विदेश जान नपर्ने बताउँछन् ।

    च्याउ खपतको बजारीकरणमा कुनै समस्या नरहेपनि सहजताको हिसाबले चुनौती छ । उत्पादनलाई बुटवलसम्म पुर्‍याउन आफ्नै सवारीसाधन नहुँदा ढुवानीमा बढी खर्च हुने गरेको उनको अनुभव छ ।

    बजारीकरणलाई सहज बनाउँदै च्याउ खेतीलाई दोब्बरले बढाएर दीर्घकालीन समयसम्मै गरिरहने निखिलको अठोट छ । यसलाई अझै विस्तार गर्ने र बजारीकरणमा पनि सहज बनाउने रहेको भन्दै उनले स्थानीय सरकार र अन्य सम्बन्धित निकायसँग पनि सहयोग माग गरेका छन् ।

    बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म फार्ममा रहने निखिलले आफू निरन्तर खटिएका कारण व्यवसायले सफलता पाउँदै गएको बताए ।

    च्याउको बीउ उत्पादनको लागि सुरुमा गहुँ पकाउने, शुद्धीकरण गर्ने, मेसिनमा राख्ने, सेटिङ हुन्छ यसलाई १० देखि १५ दिन राखेपछि बीउ तयार हुन्छ ।

    बीउ उत्पादनको लागि छुट्टै ल्याब हुन्छ । च्याउ उत्पादनका लागि सुरुमा पराल काट्ने, सफा गर्ने, ड्रममा पकाउने, २४ घण्टा सेलाउने, त्यसपछि पराल र बीउ मिसाउने, प्लास्टिकमा भर्ने, भरेपछि २० देखि २५ दिन राख्ने र पोका चिरेर पानी दिन थाल्ने त्यसपछि च्याउ उत्पादन सुरु हुन्छ । निखिलले फार्ममा गाउँमै पाइने बाँसको प्रयोग गरेर च्याउ उत्पादन गर्ने टनेल बनाएका छन् ।

    चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज केसीले कृषि उद्यमीलाई सङ्गठित गरेर लैजाने र कृषि सहकारीमार्फत सजिलो गरिने बताए । उत्पादन तथा मागमा आधारित अनुदान दिने र कृषिमा ठोस कार्यक्रम ल्याउने उनले बताए ।

    बजारीकरणको लागि ७५ वा ५० प्रतिशत अनुदानमा सवारी साधन उपलब्ध गराउने सम्बन्धमा पनि आफूहरु छलफलमा रहेको अध्यक्ष केसीको भनाइ छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend