logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास

    दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास

    1.5K
    Shares
    दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास

    धनुषा । दाइजो नदिएको भन्दै धनुषामा श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ ।
    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान राजिव झासहित परिवारका अन्य सदस्यहरु मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।

    जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले श्रीमान राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाए । श्वेताले आफूलाई श्रीमान राजिव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतकाले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताए । गत वैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ ।

    राजिवको परिवारले आफूलाई मरणासन्न हुनेगरी कुटपिट गरेर शरीरमा आगो लगाएपनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको बताए । घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

    उनले भनिन्, ‘ विवाह भएको १० वर्ष बितिसकेको छ, दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरुले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए,अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’

    घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् । त्यतिबेला बुबाले २ लाख भारतीय रुपैयाँ दिएपनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटक पटक आफूलाई प्रताडित गर्दै आएको आरोप लगाइन् । श्वेताले विवाहपश्चात बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको सुनाइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend